बैतडी- ८ ओटा स्थानीय तहमा पहिरोको उच्च जोखिममा रहेका छ । जिल्ला विपद व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौंडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका छन् ।
विभिन्न प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा जोखिम रहेको भएपनि आठओटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।
अहिले सम्म पहिरोले पुर्याएको क्षति, प्रकोपको स्तरीकरण र सम्भावित जोखिमको विश्लेषण गर्दा ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए । सुर्नया र पाटन बाहेक अरु स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका उनले बताए ।
ती दुई स्थानीय तहमा पनि पहिरोको जोखिम कायमै रहेको छ । जिल्लामा विभिन्न किसिमका प्रकोपहरुको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विपद पूर्व तयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए ।
जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगर,गोकुलेश्वर, रुद्रेश्वर, साउनगाउँ, देवगाउँ, ल्वारीखेत लगायतका ठाउँ पहिरोको उच्च जोखिममा छन् भने दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन् ।
यस्तै जिल्लाको पुरचौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा छन् । मल्लादेहीको लामुनी पहिरोका कारण प्रत्येक बर्ष धनजनको क्षति हुने गरेको स्थानीय नरेन्द्र साउँदले बताए।