कन्चनपुर (बेलौरी )-भारतीय पक्षद्वारा नेपालमा बनिरहेको हुलाकी राजमार्ग निर्माणमा अबरोध गरिएको छ ।पश्चिम कञ्चनपुरदेखि तराईका जिल्ला हुँदै पुर्व झापा जोड्ने नेपालकै दोस्रो लामो राष्ट्रिय हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षद्वारा अवरोध गरिएको हो । आइतबार भारतीय सुरक्षाकर्मीसहित प्रशासनिक अधिकारीको समुह निर्माणस्थलमै आएर सडक अवरोध गरेको हो । भारतीय पक्षले ठिक एक वर्षपछि पुनः हुलाकी राजमार्ग अवरोध गरेको छ ।
गत असारमै भारतीय सीमा सुरक्षा बल (एसएसबी) आएर अवरोध गरेका थिए ।यसवर्ष एसएसबी सहित भारतीय प्रशासनिक अधिकारी आएर निर्माण भईरहेको काम रोकेका हुन् । कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय पक्षले अनावश्यक विवाद झिकेर हुलाकी सडक कालोपत्रेको काम अवरोध गरेको स्थानीयले बताएका छन् ।
स्थानीय एव शिक्षक बुद्धिजिवी विवेक लम्सालले भारतीय रबैया र दादागिरी शैलीमा नेपाली भूमिमै आएर सडक निर्माण कार्य रोकेको बताए । ‘ठुलै फौज जत्था लिएर आएका थिए, ‘उनले भने, ‘सडकको काम रोकेर गए ।’
निर्माण कम्पनीसंग काम नगर्न भनेपछि आइतबारदेखि काम रोकिएको छ । भारतीय पक्षले अघिसारेको कदम निन्दनीय, नेपालको राष्ट्रियतामाथि नै धावा खेल्ने खालको भएको उनको भनाई छ । भारतीय एसएसबीले सडक निर्माण कम्पनी बाबाहंस सिद्धिकिका संचालक चक्र शाहलाई उक्त सडकखण्ड निर्माण नगर्न दवाव दिएपछि काम रोकिएको हो ।
भारतीय पक्षले रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर मानेर अनावश्क विवाद झिक्दै आएको छ । हुलाकी सडक निर्माण कम्पनीका संचालक चक्र शाहले एसएसबीले काम नगर्न दवाव दिएपछि काम रोकिएको बताउँदै गतवर्ष ग्राभिलिङ्ग गर्दा भारतीय पक्षले अवरोध गरेको र अहिले फेरी कालोपत्रे तयारी गर्दा रोकेको बताए ।
एसएसबीले शाहसंग गतवर्ष उक्त क्षेत्रको १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न दवाव दिएका थिए । ‘हामी हाम्रो स्प्रीड अनुसार काम गरिरहेका थियौँ, ‘उनले भने, ‘भारतीय एसएसबीले काम नगर्न भन्यो, त्यही भएर अहिले त्यो ठाँउमा काम गरेका छैनौँ ।’ सो सडकखण्डमा ७५ प्रतिशत बेस निर्माण गरिएको छ । कालोपत्रे गर्न मात्रै बाँकी थियो ।
बेलौरी नगरपालिका ८ का वडाध्यक्ष नन्द कुमार रानाले भारतीय सुरक्षाकर्मी सहितका अधिकारी आएर उक्त सडक निर्माण कार्य रोकेको बताए । उनका अनुसार भारतीय पक्षले जिपिएस नक्साबाट उक्त सडक भारतको भूमिमा पर्ने दावि गर्दै काममा अवरोध गरेको छ । ‘माथिको विषय भन्दै रोकेर गए, ‘उनले भने, ‘भारतीय पक्षले जहिल्यै अवरोध गर्दै आएको छ ।’ आफ्नै भूमिमा सडक निर्माण गर्दा पनि भारतीय पक्षले अनावश्यक विवाद झिक्दै आएको उनले बताए ।
बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले यस बारेमा नेपाली सुरक्षा अधिकारी, प्रशासन सहितको टोलीले भारतीय पक्षसंग संयुक्त वार्ता गरेर निकास निकाल्ने बताए । छिमेकी भारतले जहिले पनि अवरोध गर्ने आफु नेपालको सीमा अतिक्रमण गरिरहने बानी परेकले अर्कालाई पनि त्यस्तै सोच्दा समस्या हुने गरेको छ ।