बैतडी - कोरोना संक्रमितलाई परिक्षणबिनै घर पठाउँदा गाउँमा संक्रमणको जोखिम बढ्दै गएको छ । बैतडीका २ सय ८२ जनामा कोरोना पुष्टि हुँदा ७९ जना मात्रै स्थानीय तहले बनाएका क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवनप्रसाद जोशीले जानकारी दिए । बाँकी २०३ जनालाई यसअघि नै घर पठाइसकिएको उनले बताए ।
संक्रमितलाई पुनः परिक्षण नगरि कोरोना निको भएको पुष्टि नहुँदै घर पठाउँदा गाउँमा त्रास बढेको दोगडाकेदार ३ श्रीकोटका गणेश विष्टको भनाई छ । संक्रमितहरुलाई सिधै गाउँ पठाउँदा गाउँमा गाउँमा त्रास बढेको छ ।स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रमुख भट्टको भनाई छ ।
जिल्लाको पञ्चेश्वरमा सबैभन्दा बढी ५० जना संक्रमित रहेको पञ्चेश्वर गाउँपालिकामा ४२ जना आइसोलेसनमा रहेका बाँकी ८ जना घरमै रहेका छन् । शिवनाथ गाउँपालिकाका ४८ जनामा कोरोना पुष्टि भएकोमा सबै घरमै रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । दोगडाकेदार गाउँपालिकामा पनि ४३ जनामा कोरोना पुष्टि हुँदा सबैलाई यसअघि नै होम आइसोलेसनमा पठाइसकिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए ।
कोरोना पुष्टि भएपनि भारतबाट फर्किएर १ महिनासम्म पनि क्वारेन्टाइनमा बस्दा समेत केही लक्षण नदेखिएपछि होम आइसोलेसनमा बस्ने सर्तसहित घरमा पठाईएको उहाँले बताउनुभयो ।यस्तै सिगास गाउँपालिकामा ३९ जनामा कोरोना पुष्टि भएकोमा १८ जना आइसोलेसनमा रहेका छन् भने १८ जना होम आइसोलेसनमा पठाईएको छ ।
३४ जनामा कोरोना देखिएको दशरथचन्द नगरपालिकामा १ जना मात्रै आइसोलेसनमा रहेका छन् भने अन्य ४२ जना होम आइसोलेसनमा रहेका जनाईएको छ ।मेलौली नगरपालिकामा २७ जनामा कोरोना पुष्टि भएकोमा उनीहरु सबैलाई होम आइसोलेसनमा पठाईएको छ । सुर्नया गाउँपालिकामा १४ जनामा संक्रमण देखिएकोमा सबैलाई घर पठाईएको जनाईएको छ ।
पाटन नगरपालिकामा १२ जनामा कोरोना पुष्टि हुँदा ५ जना घरमा रहेका छन् भने ७ जना आइसोलेसनमा रहेका छन् । यसका साथै पुर्चौडी नगरपालिकामा ८ र डिलाशैनी गाउँपालिका ७ जनामा कोरोना पुष्टि भएको उनीहरु पनि सबै होम आइसोलेसनमा रहेका जनाईएको छ ।
जिल्लामा संक्रमण पुष्टि भएका मध्ये १४ जना मात्रै कोरोना जितेर डिस्चार्ज भएका हुन् । बैतडीमा हालसम्म ११ हजार २४५ जनाको आरडिटी परिक्षण गरिएको छ भने १ हजार ४ सय ९२ जनाको पिसिआर बिधीबाट कोरोना परिक्षण गरिएको छ । जसमध्ये आरडिटी पोजेटिभ आएका १ हजार ८ सय ६९ जनामध्ये १ हजार ४ सय ४९ जनाको मात्रै रिपोर्ट आएको छ भने बाँकीको रिपोर्ट आउँन बाँकी रहेको छ ।