धनगढी - धनगढी उपमहानगरपालिकाले नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना सुरु गरेको सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि बजेट विनियोजन गरेको छ । धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक बर्ष २०७७÷७८ का लागि स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेको हो । धनगढीकी उपमेयर सुशिला मिश्र भट्टले पाँचौं नगर सभा मार्फत आर्थिक वर्ष २०७७÷७८ को बजेटमा स्पोर्ट्स अवार्डलाई बजेटको व्यवस्था मिलाईएको जानकारी दिईन् ।
‘उत्कृष्ट वर्ष खेलाडी छनोट गरी अवार्ड प्रदान गर्न आवश्यक बजेट व्यवस्था मिलाईएको छ ।’ उपमेयर भट्टले भनिन्–‘यसपाली कोरोनामा अधिकांश कार्यक्रमहरु केन्द्रित भएकोले कम बजेट नै विनियोजन भएको छ । आगामी बर्षदेखि बजेट वृद्धि गर्दै स्पोर्टस अवार्ड कार्यक्रमको बजेटलाई निरन्तरता दिनेछौं ।’
नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । उपमहानगरपालिकाले स्पोर्ट्स अवार्डकै लागि बजेटमा समावेश गरेर विनियोजनको व्यवस्था मिलाइएको सुदूरुपश्चिमा यो सम्भवतः पहिलो हो । स्पोर्ट्स अवार्डका लागि एक लाख पचास हजार रुपैयाँ छुट्ट्याइएको छ ।
धनगढी उपमहानगरपालिकाले उपमहानगरको मात्रै नभएर समग्र प्रदेशकै प्रतिनिधित्व गर्ने खेलाडीको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गर्दै आएको मेयर नृप ओडले बताए । निति तथा कार्यक्रममा समावेश गरेर उपमहानगरपालिकाले त्यसको लागि बजेट विनियोजन गरेर स्पोर्टस अवार्डको आयोजना थालेकोमा स्थानीय सरकारको तर्फमा सहयोग गरेको उनको भनाई छ । ‘यहाँको प्रदेश सरकारले पनि केही नगरेको भन्ने कुरा आयो । अन्य स्थानीय तहहरुले पनि सहयोग नगरेको पाए ।’ मेयर ओडले भने– ‘राम्रो काममा सवैले सहयोग र साथ दिनुपर्छ भने स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरिएको हो । प्रदेशका खेलाडीहरुका लागि गरिएको कार्यक्रममा प्रदेश सरकार र स्थानीय सरकारहरुलाई पनि सहयोगका लागि आग्रह गर्दछौं ।’
प्रदेश सरकारले गत मंसीरमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीलाई नगद सहित सम्मान गर्ने तयारी गरेको छ । तर आफुहरुले आयोजना सुरु गरेको स्पोर्टस अवार्ड सरकारहरुले गर्नुपर्ने आफुहरुले आयोजना गर्दा पनि कुनै स्थानीय तह र प्रदेश सरकारले सहयोग नगरेको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले बताए ।
‘सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई हौसला वढाउन स्पोर्टस अवार्डको सुरुवात गर्दा आजसम्म एक रुपैयाँ पनि प्रदेश सरकारको तर्फबाट सहयोग भएको छैन् ।
अधिकांश स्थानीय तहले सहयोग गरेका छैनन् तर हामी यो अवार्डलाई बर्षेनी आयोजना गर्न पछि हट्नेछैनौं ।’ महासचिव पाठकले भने– ‘धनगढी उपमहानगरपालिकाले स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेकोमा धन्यवाद दिन चाहन्छौ । यसले हाम्रो हौसला वढेको छ । हामीलाई सामाजिक काम गर्नका लागि यस ठाउँको निजि क्षेत्रले सहयोग गरेको छ । उनीहरुको फेरि पनि सहयोग हुने अपेक्षा गरेका छौं । प्रदेश सरकार र स्थानीय सरकारले दिने आश पनि मारिसकेका छौं ।’
उनका अनुसार देशका अन्य प्रदेशहरुमा विगतका बर्षहरुदेखि स्पोर्टस अवार्ड आयोजना हुदै आएको छ । सुदूरपश्चिम प्रदेशमा त्यो नभईरहेको अवस्थामा अघिल्लो बर्षदेखि थालनी गरेको उनले बताए ।
नेपाल खेलकुद पत्रकार मञ्चले देशको प्रतिनिधित्व गर्दै अन्तराष्टिय क्षेत्रमा उत्कृष्ट प्रदान गर्ने खेलाडीहरुलाई स्पोर्टस अवार्ड मार्फत सम्मान गर्दै आएको छ ।
अन्य स्थानहरुमा प्रदेश स्तरीय अवार्ड कार्यक्रमहरु आयोजना हुदै आएकोमा त्यहाँका प्रदेश सरकारहरुले ५ देखि १० लाख रकमसम्म विनियोजन गर्दै आएका छन् । तर सुदुरपश्चिम सरकारले सहयोगको नाममा एक रुपैया पनि नदिएको महासचिव पाठकले गुनासो गरे ।