बैतडी- पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । पञ्चेश्वर गाउँपालिका १ रोलघाटमा बिओपी स्थापना भएको हो ।
रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यिय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै बिओपीमा रुपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताए ।
उक्त बिओपीको औपचारिक उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथाकीले गरेका छन ।
उद्घाटन कार्यक्रममा बोल्नुहुदैं बुढाथोकीले बिओपीले सीमा सुरक्षाका लागि चौबिसैं घण्टा सुरक्षा दिने ,सबैखाले सीमा अपराधिक क्रियाकलाप नियन्त्रण हुनुका साथै राजश्व चुहावट नियन्त्रण गर्ने बताए ।
यसका साथै उनले भारतीय सुरक्षाकर्मीसँग समन्वय गरि संयुक्त गस्ती गर्ने, सीमा सुरक्षा निगरानी , समन्वय सुरक्षा गर्ने बताए ।बिओपीमा सशस्त्र प्रहरी निरिक्षकको नेतृत्वमा ३५ जनाको टोली रहने जनाईएको छ ।
बिओपी स्थापनाका लागि पञ्चेश्वर गाउँपालिकाले १५ रोपनी जग्गा उपलब्ध गराएको हो ।
यसअघि बैतडीको झुलाघाटमा पनि गत जेठ १० गते बिओपी स्थापना गरिएको थियो ।बिओपी स्थापनाले सीमा सुरक्षाका लागि सजिलो हुने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । बैतडीमा भारतसंग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ ।
हाल सीमामा देशभरी १२९ बिओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा पाँच सय पुर्याउने तयारी गरेको छ । नेपालतर्फको सीमा नाकामा भारतको ५३० बिओपी रहेका छन् ।
नेपाल सरकारले पनि सोहि अनुपातमा बिओपी थप्ने तयारी गरेको हो ।