धनगढी- नागरिकस्तरबाट चन्दा संकलन गरी डडेल्धुरामा नागरिकस्तरबाट स्थापना गरिएको पीसीआर मेसिन सञ्चालनमा आएको छ ।ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्धारा डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिन बुधबार साँझदेखी सञ्चालनमा आएको हो ।
धनगढी प्रयोगशालामा परीक्षण गरिएका स्वावका नमूनाहरुको पुन परीक्षण गरेर मेसिन सन्चालनमा आएको उपक्षेत्रीय अस्पतालका अध्यक्ष करुणाकर ओझाले बताए । बिहीवार देखी मेसिन पूर्ण रुपमा सन्चालनमा आउने भएको छ । उपक्षेत्रीय अस्पताल डडेल्धुराका प्रयोगशाला प्रमुख ईश्वरी भुसाल, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज रमेश शाही र काठमाण्डौबाट आएका ईञ्जिनियर सहितको टोलीले यतिबेला पिसिआर मेसिनको गुणस्तर परीक्षण गरिहेको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज शाहीले मेसिनको भ्यालिडेसन भईरहेको बताए । उनले भने, यसअघि धनगढीमा परीक्षण गरिएका स्वावको पुनः परीक्षण पछि डडेल्धुरामा संकलित स्वाव परीक्षण गरिनेछ । र ती परिक्षण गरिएका स्वावको नमूनालाई धनगढीस्थित प्रयोगशाला पुनः परीक्षण गरिनेछ ।
मेसिनको गुणस्तर र क्षमता जाँच गर्न पहिलो चरणमा धनगढीमा परीक्षण गरिएका स्वावलाई पुनः परीक्षण गरिएको शाहीले बताए ।पीसीआर मेसिन सञ्चालनमा आएको खवरले अत्यन्त उत्साही भएका ह्युमानिटी फाउण्डेसनका संस्थापक अध्यक्ष श्याम तायलले भने, आज हाम्रो एउटा मिसन पुरा भएको छ । यसले कोरोना परीक्षणबाट बञ्चित सुदूर पश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दालाई ठूलो राहत मिल्नेछ ।
पीसीआर मेसिनको अभावमा सुदूर पश्चिमका पहाडी जिल्लाका बासिन्दाहरु कोरोानाको परीक्षणको अभावमा छटपटाइरहेका बेला ह्युमानिटी फाउण्डेसनले सुदूर पश्चिम समाज अमेरिकाको सहकार्यमा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान शुरु गरेको थियो ।तीन साता अघि धनगढीबाट शुरु भएको सहयोग संकलन अभियान त्यसको केही दिनमै विश्वव्यापी भएको थियो । यो अभियानमा विश्वका बिभिन्न मुलुकमा रहेका सुदूरपश्चिमेली अगुवा र सुदूर पश्चिम समाजहरुले साथ दिएका थिए ।
करीव ९६ लाख रुपैयामा स्थापना भएको यो मेसिनले एक सिफ्टमा ९६ जना र एक दिनमा तीन सय ८४ जनाको स्वावको नमूना परीक्षण गर्ने बताइएको छ । मेसिनको सम्पूर्ण खर्च ह्युमानिटी फाउण्डेसनले व्यहोर्नेछ ।विश्वभरीबाट यो अभियानमा जोडिएका सुदूर पश्चिमेली अगुवा र सुदूर पश्चिम समाजका अगुवाहरुले डडेल्धुरामा पीसीआर मेसिन सञ्चालनमा आएपछि खुशी व्यक्त गरेका छन् ।
डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुका साथै अभियानमा हौसला प्रदान गरेका थिए ।पूर्व प्रधानमन्त्री देउवाले टेलिफोन मार्फत डडेल्धुरामा पिसिआर मेसिन स्थापना गरेकोमा धन्यवाद समेत दिए ।
संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र उनका स्वकीय सचिव हितेश ओझाको सक्रियता र सहयोगमा दुई सातामै डडेल्धुरामा पीसीआर मेसिन स्थापना भएको हो ।