बाजुरा – जनता आवास कार्यक्रम अन्तर्गत बाजुरा जिल्लाका करिब एक हजार घरका छाना फेरिने भएका छन् । खर र फुसले छाएका नौ वटै स्थानीय तहका एक हजार १२ परिवारका लागि पहिलो चरणमा छाना छाउन बजेट विनियोजन गरिएको छ ।
तीन वर्षभित्र देशभरका सबै खर र फुसका छाना विस्थापन गर्ने नीति अनुसार बाजुरामा आगामी आर्थिक वर्षका लागि हजार भन्दा बढी घर परेका छन् । स्थानीय तहको सिफारिसका आधारमा छनोटमा परेका प्रतिघरलाई रु ५० हजारका दरले बजेट परेको प्रतिनिधिसभा सदस्य लालबहादुर थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिनुभयो । टिनका छाना छाउन अनुदान स्वरुप सबै खर र फुसका छाना हटाउने नीति अनुसार पहिलो चरणमा जिल्लाका एक हजार भन्दा बढी परिवारका लागि बजेट व्यवस्था गरिएको रोकायाको भनाइ छ ।
तराई र मधेशका केही जिल्लामा अघिल्लो वर्ष नै कार्यक्रम सञ्चालन भइसकेको छ । पहिलो वर्ष बाजुराका त्रिवेणी नगरपालिकामा ५८, बूढीनन्दा नगरपालिका १३४, गौमूल गाउँपालिकामा १६६, बडिमालिका नगरपालिकामा ८८, बूढीगङ्गा नगरपालिकामा ९९ र स्वामिकार्तिक खापर गाउँपालिकामा ११० घरधुरीले अनुदान पाउने छन् ।
यस्तै खप्तड छेडेदह गाउँपालिकामा १३१, जगन्नाथ गाउँपालिकामा १४१ र हिमाली गाउँपालिकामा ८५ घरधुरी समेटिएका छन् । अनुदान सहित कर्कटपाता खरीद गरेर घर छाउन बजेट व्यवस्था गरिएको छ ।
यसअघि बाजुरा जस्तो दुर्गम पहाडी जिल्लालाई समावेश नगरी कार्यक्रम ल्याइएकामा प्रतिनिधिसभा सदस्य लालबहादुर थापासहित सुदूरपश्चिम र हिमाली जिल्लाका सांसदले विरोध गरेका थिए ।
विरोधलगत्तै सरकारले सबै जिल्ला समेट्ने र तीन वर्षभित्र खर र फुसका छानामुक्त नेपाल बनाउने नीति लिएको छ । बाजुरामा धेरै घर अहिले पनि खर र माटाले छाएका छन् । ती सबैलाई खरमुक्त बनाउने गरी प्रयास जारी रहेको सांसद थापाले बताए । रासस