अत्तरिया – कैलालीको अत्तरियामा निर्माण गरिएको आइसोलेसनमा शौचालयको समस्या भएको छ । गोदावरी नगरपालिका – २ अत्तरियाको दुर्गालक्ष्मी माविको आधारभूत तहको भवनमा निर्माण गरिएको आइसोलेनमा ४६ जना कोरोना संक्रमित राखिएको भएपनि २ ओटा मात्रै शौचालय हुँदा समस्या भएको हो ।
मापदण्ड अनुसार ६ जनाका लागि १ ओटा शौचालय आवश्यक पर्ने भएपनि उक्त आइसोलेसनमा भने ४६ जनाका लागि २ ओटा मात्रै शौचालय हुँदा संक्रमितहरुलाई शौच गर्न लामो समय पालो कुनुपर्ने बाद्यता रहेको छ ।
भएका २ ओटा शौचालय पनि पहिले देखि नै दुर्गन्धित भएकाले शौचालय जान निकै समस्या हुने गरेको आइसोलेसनमा बसेकाहरुले बताएका छन । गोदावरी न्युज संग कुरा गर्दै गोदावरी नगरपालिका १२ का एक संक्रमित पुरुषले भने ‘आइसोलेसनमा शौचालय र पानीको समस्या छ । ४६ जनाले २ ओटा मात्रै शौचालय प्रयोग गर्नुपर्ने बाद्यता छ । शौचालय निकै दुर्गन्धित हुनुका साथै शौचालयको ढोकामा चिट्कुन पनि छैन ।’ उनले ४६ जनाका लागि पानीको पनि एउटा मात्रै धारा रहेको बताए ।। ‘कोरोना संक्रमण भएपनि हामीमा कुनै लक्षण छैन । कोरोना जित्छै भन्ने हामीलाई विश्वास छ ।’ उनले भने ‘तर व्यवस्थिति आइसोलेसन नहुँदा कोरोना भन्दा पनि अरु रोगको संक्रमण हुने चिन्ता बढेको छ ।’ उनले एउटै कोठामा धेरै संक्रमित राख्दा पनि जोखिम झनै बढेको बताए ।
गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिर बहादूर कुँवरले एकैदिन धेरै संक्रमित देखिएकाले व्यवस्थापनमा समस्या भएको बताए । उनले अन्य ठाउँमा तत्काल राख्ने अवस्था नभएकाले केहि दिनका लागि उक्त ठाउँमा राखिएको बताए । उनले सकेसम्म आजै उनीहरुलाई दुर्गालक्ष्मी माविको भवनमा सार्ने तयारी भएको र त्यहा राखेपछि शौचालयको समस्या हट्ने बताए ।
न चेकजाँच हुन्छ न तातो पानी नै पाईन्छ
संक्रमितहरुले आइसोलेसनमा राखेको लामो समय सम्म पनि चेकजाँचका लागि स्वास्थकर्मी नआएको बताएका छन । उनीहरुले होटलबाट खाना पुगाउने मान्छे बाहेक स्वास्थ्य अवस्थाको बारेमा बुझ्न नगरपालिकाबाट कोहि पनि नआउने गरेको बताएका छन ।
कोरोना संक्रमितले नियमित रुपमा तातोपानी पिउनु पर्ने स्वास्थ्यकर्मीहरुले बताउने गरेका भएपनि उक्त आइसोलेसनमा बसेकाहरुले भने तातो पानी तताउने व्यवस्था नहुँदा समस्या हुने गरेको बताएका छन । संक्रमितहरुले पानी तताउनको लागि बिजुलीको उचीत व्यवस्थापन नभएको बताएका छन । ‘पानी तताउने भाडाहरु भएपनि प्रत्येक कोठामा पानी तताउन बिजुलीको प्लग नै छैन ।’ कोरोना संक्रमित एक महिलाले भनीन् ‘प्रत्येक कोठामा मल्टिप्लग राखिदिएको भए हामी पानी तताएर खाने थियौं ।’
उनले केहि मल्टिप्लग नगरपालिकाले पठाएको भएपनि ति प्लगहरु कामै नलाग्ने भएको बताईन । उनले खानाको भने राम्रो व्यवस्थापन भएको बताईन ।
उक्त आइसोलेसनमा हाल गोदावरी नगरपालिका १२ र १० का कोरोना संक्रमितहरुलाई राखिएको छ । उनीहरुमा जेठ ८ र ९ गते गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएको हो ।