कैलाली - सुदूरपश्चिम प्रदेशको प्रमुख भन्सार नाका कैलाली भन्सार हुँदै चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा १८ अर्ब २५ करोड ५८ लाख बराबरको विभिन्न वस्तु आयात भएको छ भने ५५ करोड ८९ लाख ६६ हजार ९१८ बराबरको वस्तु निर्यात भएको छ ।
निर्यातको तुलनामा आयात वर्षेनि बढ्दै गएपछि यो भन्सार कार्यालयबाट भारतसँगको व्यापार घाटा ६ वर्षमा ९१ अर्बभन्दा बढी पुगेको छ । कैलाली भन्सारबाट आर्थिक वर्ष २०७१ र ७२ देखि चालू आवको जेठ मसान्त सम्ममा ९१ अर्ब २२ करोड व्यापार घाटा भएको कार्यालयले बताएको छ ।
कार्यालयको तथ्यांक अनुसार आव २०७१र७२ देखि २०७६र७७ (६ आर्थिक वर्ष) मा क्रमशः ८ अर्ब ५९ करोड ५१ लाख, १५ अर्ब ३२ करोड ३९ लाख, १२ अर्ब ४२ करोड ४० लाख, १६ अर्ब ६२ करोड २२ लाख, २१ अर्ब ५० करोड र जेठ मसान्तसम्म १८ अर्ब २५ करोड ५८ लाख रुपैयाँ बराबरको वस्तु भारतबाट आयात भएको छ ।
सोही अवधिमा समग्रमा ३ अर्ब ५६ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु मात्र निर्यात हुँदा भारतसँगको व्यापार घाटा निकै बढी देखिएको भन्सार कार्यालयका सूचना अधिकारी डिल्लीराज शर्माले बताए ।
कैलाली भन्सार नाकाबाट मुख्यगरी पेट्रोलियम पदार्थ, चामल, गहुँ, मकै, चिनी, बिस्कुट, ट्र्याक्टर, खाने तेल, सुर्तीजन्य पदार्थ, मेशिनरी औजार, फलफूल, तरकारी लगायत वस्तुको आयात वर्षेनि बढ्दो छ ।
नेपालबाट भने रोजिन, कत्था, सल्फेट, टर्पेन्टाइन तेल, खयर कत्था निर्यात हुने गरेको छ । चालू आवका लागि रू. ६ अर्ब ७० करोड ३१ लाख ६६ हजार राजस्व असुलीको लक्ष्य रहेकोमा कोभिड–१९ का कारण प्रभावित भएको कार्यालयले बताएको छ ।
यो नाकाबाट लकडाउन अवधि (चैत ११ देखि जेठ ३२ सम्म) मा ३७ करोड ६० लाख १२ हजार ७२८ मूल्य बराबरको वस्तु आयात भएको छ भने ४ करोड ४३ लाख ६१ हजार बराबरको निर्यात भएको कार्यालयका कम्प्युटर अपरेटर यज्ञराज जोशीले बताए । आर्थिक अभियानवाट