कञ्चनपुर - कञ्चनपुरका पाँच वटा स्थानीय तहले कृषि, पशुपालन, स्वास्थ्य, रोजगारीमुखी कार्यक्रम, भौतिक पूर्वाधार निर्माण, पर्यटकीय क्षेत्रको विकासजस्ता कार्यक्रमलाई प्राथमिकता दिएर बजेट विनियोजन सार्वजनिक गरेका छन्। बुधबारको सभामा ती स्थानीय तहले आव २०७७र०७८ का लागि बजेट विनियोजन गरेका हुन्।
कञ्चनपुरको बेदकोट नगरपालिकाकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु ७२ करोड ४० लाखको बजेट विनियोजन गरेको छ। नगरपालिकाको सातौँ नगरसभाबाट बजेट पारित भएको छ।
बजेटमा स्वास्थ्य, कृषि, पशुपालनलगायत बजेटका प्राथमिकतामा परेका छन्। कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि १०० श्ययाको आइसोलेसन भवन निर्माण, दमकल, एम्बुलेन्स, शवबाहनलगायत स्वास्थ्य सामग्री, औषधि, उपकरणका लागि रु चार करोड बजेट विनियोजन गरिएको नगर प्रवक्ता नरेश सिंहले बताए।
पुनर्वास नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ लागि रु ६७ करोड १० लाखको बजेट विनियोजन गरेको छ। नगरसभाबाट पारित बजेटमा स्वास्थ्य, कृषिका साथै विदेशबाट आएका व्यक्तिलाई स्वरोजगार बनाउनेलगायत प्राथमिकतामा राखिएको नगर प्रमुख जिवनराज थापाले बताए। “कोरोना भाइरस नियन्त्रण र स्वास्थ्यका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेका छौँ”, नगर प्रमुख थापाले भने, “विपद् व्यवस्थापनमा पनि एक करोड पाँच लाख बजेट विनियोजन गरिएको छ।”
पहिलो पटक नगरपालिकाले जैविक विविधताले भरिपूर्ण प्याराताललाई पर्यटकीय क्षेत्रका रुपमा विकासका गर्नका लागि बजेट विनियोजन गरेको छ। वैदेशिक रोजगारीबाट घर फर्केका व्यक्तिलाई कृषिलगायत आयआर्जनका पेशामा आबद्ध गराउनका लागिसमेत बजेटमा व्यवस्था गरिएको छ।
नगर क्षेत्रमा उत्पादित कृषि तथा फलफूलजन्य वस्तुको भण्डारण गर्नका लागि कोल्ड स्टोर निर्माणको कार्यले समेत बजेटमा प्राथमिकता पाएको छ । कृषि, पशुपालन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएको छ। रासस