काठमाडौँ – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट दक्षिण एसियाली राष्ट्रहरु नराम्रोसँग प्रभावित बनेका छन् । दक्षिण एसियाली राष्ट्रहरुमा कोरोना संक्रमितको सख्या ७ लाख ६२ हजार ६ सय ९४ पुगको छ ।
दक्षिण एसियाका आठ देशमध्ये भारत सबैभन्दा बढी प्रभावित भएको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ४ लाख २६ हजार ९१० भन्दा बढी छ भने १३ हजार ७ सय ३ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।
दक्षिण एसियामा अन्य देशको तुलनामा भुटान कम प्रभावित देखिएको छ । हालसम्म भूटानमा ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यहाँ हालसम्म कोरोनाका कारण कसैको निधन भएको छैन ।
यस्तै पाकिस्तानमा कोरोना संक्रमितको संख्या झण्डै १ लाख ८१ हजार ८८ पुगेको छ भने ३ हजार ५९० जनाले ज्यान गुमाएका छन् ।
बंगलादेशको अवस्था पनि डरलाग्दो छ । अहिलेसम्म बंगलादेशमा १ लाख १२ हजार ३०६ भन्दा बढी कोरोना संक्रमित बनेका छन् भने १ हजार ४६४ जनाको मृत्यु भएको छ।
यसैगरी अफगानिस्तानमा कोरोना संक्रमितको संख्या २९ हजार १४३ पुगको छ भने ५९८ जनाले ज्यान गुमाएका छन् । यस्तै माल्दिभ्समा अहिलेसम्म २ हजार २ सय ३ जनामा कोरोना देखिदा ८ जनाको मृत्यु भएको छ ।
श्रीलंकामा १ हजार ९ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ भने ११ जनाले ज्यान गुमाएका छन् । दक्षिण एसियामा अफगानिस्तान पछि कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा नेपाल रहेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसम्म कारण ९ हजार २६ जना संक्रमित भएका छन् । तीमध्ये अहिलेसम्म २३ जनाले संक्रमणका कारण निधन भएको छ ।