अत्तरिया – गोदावरी नगरपालिकाका पहिलो कोरोना संक्रमित कोरोना जितेर आईतबार घर फर्किएका छन । गोदावरी नगरपालिका १ का वडा अध्यक्ष तथा नगरपालिकाको कोरनाको सचेतना र उद्दारका लागि बनाइएको टास्क फोर्सका संयोजक समेत रहेका शर्मानन्द भट्ट आज कोरोना जितेर घर फर्किएका हुन ।
२ पटक गरिएको कोरोना परिक्षणमा पीसीआर रिपोर्ट नगेटिभ आएका भट्टलाई नगरपालिकाले स्थापना गरेको आइसोलेसनबाट नगरप्रमुख हरी सिं साउँद, उपप्रमुख रत्ना कडायत, नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी लगायतकाले फूल दिएर विदाई गरेका थिए ।
१४ दिनको आइसोलेसन बसाईपछि कोरोना जितरे घर फर्कने क्रममा भाबुक देखिएका भट्टले संचारकर्मीहरु संग प्रतिक्रिया दिदै आफूलाई कोरोना जित्नको लागि मनोबल बढाउन हौसला दिने सम्पुर्णलाई धन्यावाद दिए । ‘अरुको उद्धारमा खटिएकै समयमा म पनि संक्रमित हुन पुगे ।’ उनले भने ‘अहिले संक्रमण मुक्त हुँदा आफूलाई उच्च मनोबल राख्न प्रेरीत गर्ने नगरप्रमुख, उपप्रमुख, स्वास्थ्य शाखा लगायत मिडिया, फोन, सामाजिक संजाल मार्फत हौसला दिने सम्पुर्णलाई धन्यावाद दिन चाहन्छु ।’
उनले कोरोना जित्नको लागि सबैभन्दा ठुलो कुरा उच्च मनोबल नै भएकाले कोरोना लाग्दैमा नआत्तिन आग्रह गरे । ‘मैले उच्च मनोबलका साथ आईसोलेसन बसाईका क्रममा नियमित शारीरिक अभ्यास, तातो पानी पिउने, जडीबुटि गुर्जो, हल्दी, अदुवा हालेर तातो पानि पिउने गरे ।’ वडा अध्यक्ष भट्टले भने ‘हामीले यो रोगलाई जित्न रोगलाई नलुकाईकनै समयमै स्वास्थ्य संस्थामा गएर यसको जाँच गर्न र उच्च मनोबल राख्न आवश्यक छ ।’
उनले अहिले कोरोना संक्रमणको अवस्था भयावह अवस्थामा बढिरहेकाले सुरक्षित भएर बस्न सबै नगरबासीमा आग्रह गरे ।
उनले आईसोलेसनमा बस्दा खासै स्वास्थ्य समस्या नदेखिएको र एक दिन मात्रै स्वास फेर्न अलिकती गार्हो भएको बताए । उनले स्वास फेर्न गाह्यो भएपछि लामो स्वास लिने र तातो पानी खाने गरेपछि त्यो समस्या आफै निको भएको बताए ।