अत्तरिया - विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमण यतिबेला नेपालमा पनि तिब्र गतिमा बढ्दै गईरहेको छ । दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि सर्वसाधारणहरु निकै त्रसित बनेका छन् । सुदूरपश्चिम प्रदेशमा पनि पछिल्लो केही दिन यता संक्रमितको संख्या दोब्बरले बढिरहेको छ । संक्रमितको संख्या बढ्दै गएपनि परिक्षणको दायरा भने अझै बढाउन सकिएको छैन ।
प्रदेशमा एक मात्र पिसिआर मेसिन हुदाँ परिक्षणको दायरा बढाउन नसकिएको हो । यही समस्या र प्रदेशबासीको पिडालाई बुझेर सुदूरपश्चिम समाज दक्षिण कोरियाले डडेल्घुरामा पिसिआर मेसिन राख्नका लागि आर्थिक संकलन अभियानको सुरुवात गरेको छ ।
ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाले थालेको अभियानमा जोडिदै सुदूर पश्चिम समाज दक्षिण कोरियाले पनि सहयोग संकलन अभियान शुरु गरेको हो ।
प्रबासमा रहे पनि आफ्नो प्रदेशबासीमा परेको पिर , मर्का र समस्यालाई मध्यनजर गर्दै सुदूरपश्चिम समाज दक्षिण कोरियाले डडेल्घुरामा पिसिआर मेसिन राख्नका लागि आर्थिक संकलन अभियानको सुरुवात गरेको समाजका अध्यक्ष बिर बहादुर पालले जानकारी दिए ।
कोरोना विरुद्धको लड़ाईमा ऐक्यवद्धता, पिसिआर मेशिन जडानमा हाम्रो सक्रिय सहभागिता भन्ने नारा सहित विश्वका बिभिन्न देशमा रहेका सुदूरपश्चिम प्रदेशका सामाजिक संस्थाकाहरुले सुरु गरेको पहल तथा अभियानमा आफुहरु पनि जोडिएको उनले बताए ।
सहयोग संकलनका लागि शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रमका संयोजक एबम् समाजका बरिष्ठ सल्लाहकार डा. अग्नीराज कोईरालाको नेतृत्वमा २३ जनाको एक समिति गठन गरिएको छ ।
उक्त समितिले हाल सम्म ६ लाख रुपैया नेपाली संकलन गरिसकेको अध्यक्ष पालले बताए । उनले अहिले डडेल्घुरामा पिसिआर मेसिनका लागि संस्थामा आबद्ध भएका पदाधिकारीका साथै दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेलीहरु एकजुट भएर सहयोग गरिरहेको बताए ।
उनले कोरोना संक्रमणको निकै जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको ७ पहाडी जिल्लामा धेरै जसो भारतवाट आएकाहरु बिना परिक्षणवाट बञ्चित रहेकाले पिसिआर मेसिन खरिद गरि जडान भएपछि कोरोनाले महामारी रुप लिन नपाउने बताए ।
आर्थिक संकलनमा समितीका संयोजक एबम् समाजका बरिष्ठ सल्लाहकार डा अग्निराज कोइराला र समाजका सचीव वीर भण्डारीले महत्वपूर्ण सहयोग गरिरहनुभएको उनले बताए । उनले यो पबित्र कार्यमा सहयोग गर्नका लागि सम्पूर्ण कोरियामा रहेका सुदूरपश्चिमेलीहरुमा आग्रह समेत गर्नुभएको छ ।
