धनगढी -सुदूरपश्चिम कोरोनाको इपीसेन्टर बन्ने त होइन भन्ने बहस शुरु भएको छ । शुक्रबार साँझ सम्मको तथ्याङ हेर्दा स्थिती भयाबह हुने त होइन भन्ने आंकलन शुरु भएको छ । शुक्रबार सम्म सङ्क्रमित प्रदेशमा बढेर ७सय ७५ पुगेको छ । अत्तरिया बजार पूर्ण रुपमा बन्द भएको छ भने डडेल्धुरा बजार सिल गरिएको छ । स्थानियमा सन्त्रास पनि ह्वात्तै बढेको छ ।
केही दिनयता खुलेका बजारमा पनि ग्राहक आउन छोडेका छन् । सुदुरपश्चिमको नाका भएर यँहा झण्डै २ लाख भारतबाट फर्किएका छन् । शुरु देखी नै प्रदेशमा अनुमान गरिएको थियो कि भारतबाट आउने सँगै कोरोना पनि डरलाग्दो गरी भित्रिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली कै भाषामा भन्ने हो भारतबाट आएको कोरोना कडा खालकै छ त्यही अनुसारको सँख्या पनि दिन दिनै बढदै गएको छ । गरिबी अशिक्षा भोक ले यँहाका नागरिकहरु लाखौं को सँख्यामा भारत कामको खोजीमा जाने गर्दछन ।
भारतमा पनि लकडाउन भएपछि उनिहरु रोजगार गुमाएपछि आ आफ्नो घर फर्किए । उनिहरु घर फर्किने कुरो पनि स्थानिय, प्रदेश र केन्द्र सरकारलाई जानकारी थियो । तर सत्तामा बसेकाहरुको मनोबिज्ञान ले त्यती काम गरेन र उनिहरुले यती धेरै कोरोना संक्रमित होलान भनेर आकलन गरेनन्। प्रदेश सरकारले स्थानिय सरकारलाई क्वारिनटिन ब्यबस्थापनको लागी भनेर बजेट छुट्यायो । त्यही अनुसारको जती सकिन्छ स्थानिय स्तरमा क्वारिनटिनहरुमा केही दिन मान्छे राखियो ।
गल्ती शुरुमा सिमाबाट नै भयो
सिमामा आएका नागरिकहरुलाई हुलका हुल स्वदेश भित्र्याउने काम भयो । त्यो क्रम अहिले अली कम भएको छ । तर उनिहरुलाई जसरी पनि सम्बन्धित गाउँ पुर्याउने कुरो मा जोड दिइयो । कोरना संक्रमण फैलिने रोग हो भन्ने बुझ्दा बुझ्दै सिमामा खाना खुवाउनेहरुको भिडलाई पनि सरकार रमिते बनेर हेरिरह्यो । सिमामा आउने नागरिकको सामान्य ज्वरो नाप्ने काम बाहेक अरु केही पनि गरिएन । उद्दार गरेर लगेपछी पनि क्वारिनटिन ब्यबस्थित र कडाइ गरिएन ।
प्रदेश सरकार र स्थानिय सरकारको बिचको दुरी यती टाढा छ कि उनिहरु यस्तो सामुहिक समस्यामा पनि मिलेर काम गर्दैनन् । आफ्नो प्रदेशमा ठुलो सँख्यामा नागरिक भित्रिएको थाहा भएअपछि कम्तीमा त्यो एक महिनाको समयमा प्रदेश सरकारले ठोस् योजना बनाउनु पर्ने थियो । तर प्रदेशका मुख्यमन्त्री र अन्य मन्त्रीहरुको अधिकांस समय भिडियो कन्फ्रेसमा नै बित्यो ।प्रदेश सरकार पनि सरकार हो उसको पनि सुरक्षा र सुचना संपर्क छ होला यती मान्छे आए उनिहरुको ब्यबस्थापन कसरी गर्ने भन्ने कुरा सरकारले कहिले पनि सार्बजनिक रुपमा भन्न सकेन । प्रदेशका मुख्यमन्त्री ले यो बिचमा एक पटक प्रदेशबासीलाई सम्बोधन गरे तर त्यसपछि के के गरियो भनेर कतै पनि जानकारी दिइएको छैन ।
हाम्रो स्वास्थ्य अवस्था यती नाजुक छ कि अहिले पनि एउटा मात्रै कोरोना परिक्षण गर्ने पिसिआर मेसिन छ । पर्याप्त भेण्टीलेटर हामी सँग छैन । पहाडी जिल्लामा झनै पर्याप्त भौतिक पूर्बाधार भएका अस्पतालहरु छैनन् । यि सबैकुरा सरकार चलाऊनेलाई थाहा नहुने कुरै भएनै तर पनि थाहा नपाएको जस्तो गरि बस्दाको परिणाम अहिले हामी भोग्दै छौ । नेकपाको सरकार छ प्रदेशमा उसले आँफै केही गर्न नसक्ने केही गर्नु पर्यो कि आफ्नै ठुला नेताहरुलाई सोध्नु पर्ने अबस्था रहेको पनि राजनितिक क्षेत्रमा बेला बेला चर्चा हुने गरेको छ ।
तर यो बिचमा नेकपा सुदुरपश्चिमका मुख्य नेताहरु भिम रावल ,लेखराज भट्ट र प्रदेश अध्यक्ष कर्ण थापाले पनि आफ्नै पार्टीको सरकारलाई ठीक ढंगले निर्देशन गर्न सकेनन् । प्रतिपक्षको काम बिरोध मात्रै गर्ने हो भन्ने बुझाई राखियो र उसले पनि सरकारलाई ठीक ढंगले दबाब दिन सकेन ।स्थानिय सरकारहरु पनि अलमल मा परे उनिहरुले सिमाबाट मान्छेहरुलाई क्वारिनटिन सम्म त पुर्याए तर त्यँहा बसेकाहरु बिन्दास भएर घुम्न थालेपछि डडेल्धुरा सदरमुकाम र गन्यापधुरा गाउँपालिका त सिल नै गर्नु पर्योत ।
सामाजिक दूरी कायम नगरी बढ्न थालेको सर्वसाधारणको चहलपहलले रोगको सङ्क्रमण अब त गाउँ गाउँ सम्म पुगिसक्यो । भारतवाट फर्किएर क्वारेन्टिनमा बसेका नेपालीको बसाइ व्यवस्थित र तोकिएको मापदण्ड अनुसार हुन नसक्दा सङ्क्रमणको जोखिम बढेको जानकारहरुले बताएका छन् सङ्क्रमित सँगको सम्पर्कमा आएकाको गर्नुपर्ने ‘कन्ट्रयाक्ट ट्रेसिङ‘ को प्रभावकारी हुन नसक्दा सङ्क्रमणको जोखिम बढेको बताइएको छ ।
मुख्य ३ नेताको खोजी
सुदुरपश्चिमको सवाल आयो कि यँहाका प्रमुख नेताहरु एक ठाउँमा आउने बिगत को परम्परा रहँदै आएको थियो । उनिहरु एक ठाउँमा आउंदा बिगतमा कतिपय दुरगामी अर्थ राख्ने निर्णय भएका पनि छन् । तर सुदुरपश्चिममा कोरोनाको जोखिम बढदै गएको उनिहरु सबै जानकार रहेको भएपनी समाधान खोज्ने बिषयमा भने उनिहरु एक ठाउँमा बसेर छलफल गरेको अहिलेसम्म कतै सुनिएको छैन ।
प्रदेशमा एउटा मात्र पिसिआर मसिन छ जसको कारण कोरोना संक्रमित को चेकजांच गर्न समस्या छ भन्ने कुरामा देउबा भट्ट र रावल पक्कै पनि जानकार नै होलान । तर यति ढिलो भईसक्दा पनि ठोस पहल र परिणाम निस्केको छैन । संघिय सरकारका मन्त्री समेत रहेका नेकपाका नेता लेखराज भट्टले केही आरटिडी किट पठाउने पहल त गरे तर त्यो किटले झनै अन्यौलता थपेको छ । कोरोना परिक्षण पिसिआरबाट गर्दा नै राम्रो हुने देखीयो । मन्त्री भट्टले त केही दिन अघी धनगढी मै पुगेर पिसीआर मेसिन एक दुई दिन मा आउने ठोकुवा गरेका थिए तर त्यो पनि आउन सकेको छैन ।
नेकपाका अर्का नेता भिम रावल एमसिसी को बहस मै ब्यस्त देखिएका छन् । रावल जि! एमसीसीको बहस गर्दै गरौँला पहिले यँहाका जनतालाई बचाउनु पर्यो । त्यसको लागी खै तपाईंको ठोस पहल देखिएन त ? धेरै पटक पूर्व प्रधानमन्त्री बनीसकेका काँग्रेस सभापती शेर बहादुर देउबालाई पनि प्रदेशको अबस्था पक्कै थाहा होला तर उनिबाट पनि खासै पहल केही भएको देखिएको छैन ।
पुर्ब प्रधानमन्त्री अनी पार्टी सभापती भएका देउबा जि सँग त झनै यस क्षेत्रका नागरिकहरुको अली बढि अपेक्षा हुने नै भयो । देउबा जि! तपाईंले त नेपालको ब्युरोक्रेसी र उनिहरुको सुदुरपश्चिमलाई हेर्ने नजर मज्जाले बुझ्नु भएको होला त्यसैले अब ढिलो नगर्नुहोस एउटा पिसिआर मेसिन जसरी पनि सुदुरपश्चिममा ल्याउन पहल गर्नु होला । सुदुरपश्चिमका आम नागरिकले अहिले केन्द्रिय भूमिकामा रहेका तिनै नेताहरुको दरिलो भुमिका को खोजीगरिरहेका छन् ।