अत्तरिया – गोदावरी नगरपालिकाले केहि दिनका लागि नगरक्षेत्र भित्र रहेका व्यवसाय बन्द गरिदिन अपिल गरेको छ । नगरक्षेत्रका व्यवसायि र अत्तरिया उद्योग बाणिज्य संघको आग्रहमा नगरपालिकाले केहि दिनका लागि बजार बन्द गरिदिन आग्रह गर्दै अपिल जारी गरेको हो ।
गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सि साउँदद्धारा हस्ताक्षरित अपिलमा बजार खोली भिडभाड गराउँदा नगरबासीहरुका लागि अत्यन्त जोखिमपुर्ण रहेकाले अत्यावश्यक सेवा बाहेक अन्य बजार बन्द गरिदिन नगरबासिमा अपिल गरिएको छ ।
‘हालै मात्र यस नगरपालिका कोरोना संक्रमणले एक जनाको ज्यान लिईसकेको र केहि व्यक्तिहरुमा संक्रमण देखिएको सन्दर्भमा बजार खोली मानिसहरुको भिडभाड गराउनु नगरवासीहरुका लागि अत्यन्य जोखिमपुर्ण रहेकाले सम्र्पुण यस नगरपालिका अन्तरगतका अत्तरिया बजार लगायत अन्य बजार क्षेत्रका व्यवसायीहरुले केहि दिनका लागि आफ्नो पसल वा व्यवसाय स्थल अत्यावश्यक सेवा बाहेक बन्द गरिदिनहुन आग्रह गरिन्छ ।’ नगरप्रमुखद्धारा हस्ताक्षरीत अपिलमा भनिएको छ ‘सम्पुर्ण नगरबासिहरुले एकदमै सचेत भै सावधानी पुर्वक (कोभिड १९) कोरोना भाईरस सम्बन्धी नेपाल सरकारले जारी गरेका मापदण्ड पालना गरी घरमै बसिदिनहुन अपिल गर्दछु ।’
नेपाल सरकारको मन्त्रिपरिषद्को जेठ २८ गतेको बैठकले लकडाउनको ढाँचा परिवर्तन गर्दै पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुुकुलो बनाउने निर्णय गरेको थियो । सोहि निर्णय बमोजिम यस क्षेत्रका बजार व्यवसाय आशिंक रुपमा संचालन आएको भएपनि पूर्ण रुपमा भने सुचारु हुन सकेका थिएनन् । सरकारको उक्त निर्णय पछि अत्तरिया उद्योग बाणिज्य संघले पनि बजार सुचारु गर्न आग्रह गरेको भएपनि पछिल्लो समय नगर क्षेत्रमा कोरोना संक्रमित बढ्न थालेपछि अहिले व्यवसायि र अत्तरिया उद्योग बाणिज्य संघ पनि केहि दिनका लागि बजार बन्द गर्नुपर्ने पक्षमा उभिएको छ ।
गोदावरी नगरपालकामा शुक्रबार संम्मको तथ्याङ्क अनुसार ५ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ भने एक जनाको मृत्यु समेत भईसकेको छ । अन्य संक्रमित अहिले उपचारकै क्रममा रहेका छन ।
गोदावरी नरपालिकामा जेठ २४ गते पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । सेती प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परिक्षणमा गोदावरी नगरपालिकाका ४४ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी नगरपालिकाका जनप्रतिनिधि समेत रहेका थिए । उनी अहिले नगरपालिकाले निर्माण गरेको आईसोलेसनमा रहेका छन ।
त्यसपछि नगरपालिकाको वडा नम्बर १० मा २ जना भारतबाट आएर क्वारेनटाईनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित देखिएका १९ बर्षिय महिला र २५ बर्षिय पुरुष रहेका थिए । जेठ ३१ गते कोरोना संक्रमण देखिएका उनीहरुलाई पनि नगरपालिकाले निर्माण गरेको आईसोलेसनमा राखिएको छ ।
जेठ ३२ गते गोदावरी नगरपालिका १ का ४६ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको भने असार ३ गते उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भईसकेको छ ।
त्यस्तै गोदावरी नगरपालिका २ का ५२ बर्षिय एक पुरुषमा कोरोना देखीएको छ । असार २ गते कोरोना संक्रमण देखिएका उनि अहिले आइसोलेशनमा रहेका छन् ।
सम्बन्धित खबर : पसल तथा व्यवसाय स्थल बन्द गरिदिन अत्तरिया उद्योग बाणिज्य संघको अपिल