पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीमा कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण देखिएको छ । विपक्षी पाकिस्तान पिपुल्स पार्टीका नेता समेत रहेका गिलानीमा कोरोना देखिएको पुष्टि उनका छोरा कासिम गिलानीले गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘इमरान खानको सरकार र राष्ट्रिय जवाफदेही ब्युरो (एनएबी) लाई धन्यवाद । तपाईहरुले मेरा बाबुको जीवन सफलतापूर्वक खतरामा पारिदिनु भएको छ । उहाँमा कोभिड–१९ देखिएको छ ।’
यसअघि कोरोनाको खतराका बाबजुद पूर्व प्रधानमन्त्रीलाई सम्पत्ति छानविनका क्रममा एनएबीमा उभ्याइएको थियो ।
त्यहींबाट गिलानीमा कोरोना सरेको आशंका गरिएको छ । एनएबीमा बयान दिनका लागि उपस्थित भएका मुख्य प्रतिपक्षी दल मुस्लिम लिग– नवाज (पिएमएल–एन) का प्रमुख सहवाज सरीफमा पनि यसअघि कोरोना देखिएको थियो । पिएमएल–एनका नेता अताउल्लाह तरारले ९ जुनमा बयान दिनका लागि एनएबीमा उपस्थित हुनुपरेका कारण ६८ वर्षीय सरीफमा कोरोना देखिएको आरोप लगाउँदै विज्ञप्ति निकालेका थिए ।
‘एनएबीलाई कयौंपटक लिखित रुपमा यो जानकारी गराइएको थियो कि यसअघि नै क्यान्सरबाट संक्रमित भएका सरीफको रोग प्रतिरोधी क्षमता कमजोर छ,’ तरारले भनेका थिए,‘ तर, एनएबीमै उपस्थित हुनका लागि उनी घरबाट निस्कनुप¥यो ।’
एनएबीमा कार्यरत केही अधिकारीलाई कोभीड–१९ देखिएको भन्दै सरीफले आफु घरबाट निस्कदाँ जोखिम धेरै हुने जानकारी पनि एनएबीमा गराएका थिए । यद्यपी, उनको बयान रोकिएन ।
पाकिस्तानमा १ लाख ३२ हजारभन्दा धेरैमा कोरोना देखिएको छ र धेरै हाइप्रोफाइल व्यक्तिको नाम यसमा समावेश छ । शनिबारै पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान साहिद अफ्रिदीले आफुमा कोरोना देखिएको पुष्टि गरे ।
त्यसअघि नै पूर्व प्रधानमन्त्री साहिद खाकाना अब्बासी, रेल मन्त्री शेख राशिद अहमदलगायत नेताहरुमो कोभिड–१९ संक्रमण देखिएको थियो । संक्रमणकै कारण एक प्रान्तिय मन्त्रीसहति चार सांसद्को ज्यान गइसकेको छ ।
पाकिस्तानमा मृत्यु हुनेको कुल संख्या २५ सय ५१ पुगेको छ । तर, संक्रमित संख्या वृद्धि हुनका बाबजुद यहाँ सरकारले अर्थतन्त्र सञ्चालनका लागि लडडाउन खुकुलो गरिसकेको छ । विश्व स्वास्थ संगठनले भने पाकिस्तानलाई फेरि लकडाउन गर्न सुझाएको छ ।