अत्तरिया – महिला तथा बालबालिका सेभ हाउसलाई स्थानिय युवाहरुले खाद्यान्न सहयोग गरेका छन । कैलालीको गोदावरी नगरपालिका २ मा रहेको सेभ हाउसलाई सोहि वडाको तेघरी, महरा कटानका युवाहरुले खाद्यान्न सहयोग गरेका हुन ।
युवाहरुले ४ कट्टा चामल, १० किलोग्राम दाल, एक पेटि तेल, नुन, मसला, चाउचाउ, मास्क, सेनेटाईजर लगायतका सामग्री सहयोग गरेका हुन । अगुवा युवा एलआर ओझाले सेभ हाउसमा खाद्यान्नको समस्या भएको भन्ने कुरा थाहा पाएर गाउँका अगुवाहरुको सल्लाह बमोजिम रकम संकलन गरी खाद्यान्न सहयोग गरेको बताए । उनले आफू र सुधिर बलायरको नेतृत्वमा गाउँबाट संकलन गरिएको रकमबाट खाद्यान्न किनेर सेभ हाउसलाई सहयोग गरेको बताए । उनीहरुले राहत सामग्री सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई हस्तान्तरण गरेका थिए ।
राहत बुझ्दै सेभ हाउसकी अध्यक्ष जानकी मलासीले लकडाउनमा सेभ हाउस संचालन गर्न निकै समस्या परिरहेको बेला युवाहरुले गरेको सहयोग प्रति धन्यावाद व्यक्त गरिन् । ‘लकडाउनमा सेभ हाउस संचालन गर्न निकै समस्या भएको छ । स्थानिय सरकारले पनि लकडाउनमा कुनै सहयोग गरेको छैन ।’ उनले भनीन् ‘यस्तो समस्या परेको समयमा सहयोग गरेकामा हृदयदेखि नै धन्यावाद दिन चाहन्छु ।’
उनले अहिले पनि सेभ हाउसमा २० जना बालबालीका, ३ जना महिला र २ जना कर्मचारी रहेको बताईन् । ‘बालबालीकालाई एकातीर कोरोनाको जोखिमबाट बचाउनु पर्ने छ, अर्कोतिर लकडाउनमा उनीहरुका लागि खाद्यान्न जुटाउन समस्या भएको छ । लकडाउनमा बिभिन्न संघसस्थाहरुले गरेको सहयोगले सेभ हाउस चलाईरहेका छौ ।’ अध्यक्ष मलासीले भनीन् ।