कञ्चनपुर - कञ्चनपुरका तीन स्थानीय तहले आवासविहीन विपन्न परिवारका लागि नमूना एकीकृत बस्ती निर्माण गर्ने भएको छ। जिल्लाको बेदकोट, भीमदत्त र महाकाली नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका आवासविहीन विपन्न परिवारको आवासका लागि नमूना बस्ती निर्माण गर्न लागेको हो।
विपन्न, भूमिहीन र दलित समुदायलाई लक्षित गरी स्थानीय तहले राष्ट्रिय मुक्त हलिया समाज र हेविटाट नेपाल नामक गैरसरकारी संस्थाको साझेदारीमा आवास निर्माण गर्न लागेका हुन्। प्राविधिक सहयोगसहित संस्थाले प्रतिघर निर्माणका लागि रु एक लाख सहयोग गरेको छ।
बेदकोट नगरपालिकामा विपन्न परिवारका लागि आठवटा आवास निर्माणको कार्य भइरहेको छ। यसका लागि विस्तृत लागत अनुमान ९डिपिआर० निर्माणको कार्य पूरा गरी आवास निर्माणको कार्य भइरहेको छ। आवास निर्माणका लागि सांसद नरबहादुर धामीको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ४२ लाख रकम खर्च गरी आवास निर्माणको कार्य अगाडि बढाइएको बेदकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गणेश विकले बताए।
“असार मसान्तभित्रै घर निर्माणको कार्य पूरा गर्ने गरी कार्य भइरहेको छ”, उनले भने, “एक घर निर्माणमा रु सात लाख बढी रकम खर्च गरिएको छ ।” पहिलो चरणमा विपन्न परिवारका लागि आठवटा मात्रै घर निर्माण गरिए पनि नगरपालिकाले नगर क्षेत्रमा रहेका भूमिहीन र विपन्न परिवारका लागि ४५ वटा घर निर्माण गर्ने लक्ष्य लिएको छ।
यसैगरी, भीमदत्त नगरपालिकाका विपन्न र भूमिहीन परिवारका लागि कार्यक्रमअन्तर्गत २० परिवारका घर निर्माणको कार्य अगाडि बढाइएको छ। कञ्चनपुर क्षेत्र नम्बर ३ का सांसद डा दीपकप्रकाश भट्टको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, भीमदत्त नगरपालिका र हेभिवेट इन्टरनेशनलको साझेदारीमा घर निर्माण हुन लागेका हुन्। वडा नम्बर ९ र १० मा १०र१० घर निर्माण हुन लागेको नगर प्रमुख सुरेन्द्र विष्टले बताए।
वडा नम्बर ९ को जमुनाभाडीको वादी समुदायको बस्तीमा घर बनाउन थालिएको छ। वादी समुदाय पुस्तौँदेखि भूमिविहीन छ। निर्माण भइरहेका सबै घर शौचालयसहित दुई कोठाका रहेका छन्। घर निर्माण सुरु गरिएपछि भूमिहीन विपन्न परिवार खुुशी भएका छन्। गत वर्ष भीमदत्त नगरपालिकामा जनता आवास कार्यक्रमअन्तर्गत १५ परिवारका घर निर्माण गरिएका थिए।
घर निर्माणमा सांसद भट्टको स्थानीय पूर्वाधार विकास साझेदारीबाट ५० लाख, भीमदत्त नगरपालिकाको १० लाख र हेभिवेटको २० लाख खर्च साझेदारी गरिएको छ। महाकाली नगरपालिमामा भूमिहीन र विपन्न परिवारका लागि १४ वटा घर निर्माणको कार्य अगाडि बढाइएको छ। नगरपालिका र सांसद भट्टको स्थानीय पूर्वाधार विकास साझेदारीबाट ५० लाख रकम घर निर्माणका लागि परिचालन गरिएको छ ।
राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिबी लुहारका अनुसार निर्माण हुने घर आधुनिक शैलीका हुनेछन्। घर भूकम्प प्रतिरोधी हुनाका साथै प्रत्येक घरमा शौचालयसमेत निर्माण गरिनेछ। आवास निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउने छ। प्रत्येक घरसम्म पुग्ने सडक र आवास रहेको जग्गामा फूलबारी करेसाबारीलगायतको समेत व्यवस्था गरिनेछ। रासस