बाजुरा - जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुराका क्याम्पसका क्वारेन्टिनमा बसेकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले निःशुल्क औषधि उपलब्ध गराउनुका साथै योगाभ्याससमेत गराएको छ ।
केन्द्रले बुधबार उक्त क्वारेन्टिनमा बसेका ९५ जनालाई औषधि वितरण गरिएको र योगाभ्यास पनि गराएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका कार्यालय प्रमुख दीक्षा भण्डारीले बताए ।
उनले क्वरेन्टिनमा बस्दै आएकाको तनाव व्यवस्थापन र उच्च मनोबल बनाउनका लागि योगाभ्याससम्बन्धी जानकारीसहित १२ चरणका योगाभ्यास गराएको भण्डारीले बताए। रोग प्रतिरोधात्मक क्षमता बढाउन र शरीरको रगत चलायमान बनाउन आयुर्वेदिक औषधिसहित योगाभ्यास गराएको प्रमुख भण्डारीले बताए ।
योगाभ्यास तथा औषधि वितरण कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले क्वारेन्टिनमा बसेकाका लागि नगरपालिका सबै सेवा दिन तयार रहेको बताए।
नगरपालिकाले क्वारेन्टिनमा बसेकाका लागि कुनै पनि सेवा सुविधामा कमी आउन नदिने बताए। क्वारेन्टिनमा रहेका नगरका नागरिकले अनावश्यक कुरामा भन्दा सबैले जिम्मेवार भई बस्न नगरप्रमुख बडुवालले आग्रह गरे । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले पछिल्लो समयमा बाजुरामा विभिन्न रोगमा बिरामीलाई आयुर्वेद उपचार सेवा प्रभावकारी बनाउँदै गएको छ।
आयुर्वेद अस्पतालमा बाथ, अम्लपित्त, दम, खोकी, पिनास, पायल्स, छालारोग, स्त्रीरोग, उच्च रक्तचापलगायतका रोगहरुको उपचार हुँदै आएको केन्द्र प्रमुख भण्डारीको भनाइ छ । आयुर्वेदभन्दा पहिले खासै बिरामी नआउने गरेको केही समयमा प्रचारप्रसार हुन थालेकाले बिरामीको सङ्ख्या बढ्दै गएको उनले बताए। केन्द्रले सुनौला हजार दिनका आमालाई दूध बढाउने औषधि र ज्येष्ठ नागरिकको लागि रसायन औषधि वितरण गर्दै आएको केन्द्रले जनाएको छ ।
अस्पतालमा ओपिडी सेवा, पूर्वकर्म, पञ्चकर्म सेवा र वितरण हुँदै आएको छ। क्वारेन्टिनमा रहेकालाई औषधि वितरण कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट, वडाध्यक्ष प्रकाश रावल, विनोदकुमार विकको सहभागिता थियो। औषधि वितरण बडिमालिका नगरपालिकाको सहयोगमा गरिएको छ। रासस