अत्तरिया - सुदूरपश्चिम प्रदेशमा कोरोनाको अबस्था बारे बुझ्न संघिय सरकारका उद्योग ,वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट सहितको एक उच्च स्तरीय टोली सुदूरपश्चिममा आइ पुगेको छ । कोरोना संक्रमणको अबस्था , चेकजाँच , जनशक्ति तथा स्वास्थ्य सामाग्रीहरुको आवश्यकता , परीक्षणको अबस्था तथा आगमी चाल्नुपर्ने कदमहरुको बारेमा बुझ्न मन्त्री भट्ट सहितको उच्च स्तरीय टोली सुदूरपश्चिममा आइ पुगेको हो ।
मन्त्री भट्टको नेतृत्वमा रहेको उक्त टोलीमा उद्योग सचिव चन्द्र कुमार घिमिरे , अन्तर प्रादेशिक योजनाको सयोंजन रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कडेंल र सोही आयोगका सदस्य सुशील भट्ट लगायत मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्यमीहरूको प्रबर्द्धनमा सहकार्य गर्दै आएको यूएनडिपीका प्रतिनिधिहरू सहभागी रहेका छन् ।
उक्त टोलीले यस प्रदेशमा कोरोना परीक्षण ,उपचार एवं अन्य आबश्यकताको पूर्तिलाइ अझै प्रभावकारी र सहज बनाउनमा के गर्न सकिन्छ भन्ने बारे आगामी चाल्नुपर्ने कदमहरुका बारेमा जानकारी लिनेछ भने कोरोना महामारीका कारणले विदेशबाट फर्किन बाध्य लाखौ युवाहरूलाई उद्यमशीलता र रोजगारीको अवसर प्रदान गर्न लघु, घरेलु तथा साना उद्योगलाई प्रबर्द्धन गर्ने उपायहरूको खोजी र तत्काल कार्यान्वयन गर्न तर्फ ध्यान दिने छ ।
यस्तै उक्त टोलीले सुदूरपश्चिमको प्रमुख सिमा नाका गौरीफन्टा सिमा, विभिन्न ठाउँमा रहेका क्वारेन्टाइन , हरैया औधोगिक क्षेत्र लगाएतको पनि अनुगमन गर्ने भएको छ ।