काठमाडौं – गैरसरकारी संस्था महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा लकडाउन (बन्दाबन्दी) को समयमा ५१ वटा जिल्लाहरुमा ६ सय २४ जना महिला तथा बालिका माथि विभिन्न प्रकारका हिंसा भएको जनाएको छ । ओरेकले मंगलबार जारी विज्ञप्तिमा उक्त संख्यामा हिंसा भएको दावी गरेको हो ।
ओरेकले बन्दावन्दीको समयमा संकलन भएका हिंसाका घटनाहरु मध्ये सबैभन्दा बढी ६१ प्रतिशत अर्थात ३७९ जना महिलाहरु आफ्नै श्रीमान र परिवारका सदस्यहरुबाट हिंसा भएको तथ्याँक रहेको जनाएको छ ।
सो संस्थाले अभिलेखिकरण गरेका घरेलु हिंसाका घटनामध्ये २ सय २९ वटा शारीरिक हिंसा र ८३ वटा मानसिक हिंसाका घटना रहेका छन् । जुन घटनालाई हेर्दा महिलाहरुलाई दाइजो नल्याएको वा कम ल्याएको निहुँमा, छोरी छोरी जन्माएको निहुँमा, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएकोमा सबै दोष महिलालाई नै लगाउने, गालीगलौज गर्ने, अपशब्द प्रयोग गर्ने तथा चारित्रिक आरोप लगाई दैनिक रुपमा शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको जनाएको छ ।
यसैगरी ६७ जना महिलाहरुलाई खान लाउन नदिइ घर निकाला गरी वेवास्ता गरिएको (५४), विवाह दर्ता, बच्चाको जन्मदर्ता, नागरिकता नबनाइदिएको (१० जनालाई), स्वास्थ्य सुविधावाट बञ्चित गर्ने (३ जनालाई) जस्ता आवश्यक स्रोत सुविधाबाट बञ्चित गरिएको पाइएको छ । घरेलु हिंसाका घटनामा २८६ जना श्रीमान र ८३ जना परिवारका सदस्य संलग्न रहेको जनाएको छ ।
ओरेकले ६१ वटा सामाजिक हिंसा, ८२ वटा बलात्कार, १९ वटा बलात्कारको प्रयास, २३ वटा यौन दुव्र्यवहार, १२ वटा हत्या, २ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, २७ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, ४ वटा हत्याको प्रयासका घटना, २ वटा मानव बेचविखन र ११ वटा साइवर अपराधसँग सम्बन्धीत रहेको पनि जनाएको छ ।