एजेन्सी – विश्वमा कोरोना भाइरस महामारीको अवस्था थप खराब बन्दै गएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ । सोमबारको प्रेस ब्रिफिङ्गको क्रममा डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले युरोपमा महामारी कमजोर हुँदै गएर अवस्था सुधार भइरहे पनि विश्वका अरु क्षेत्रमा भने थप संकट उत्पन्न भएको बताएका हुन् ।
पछिल्लो १० दिनमा ९ दिन विश्वभर प्रतिदिन एक लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । त्यसमध्ये ७५ प्रतिशत भन्दा बढी संक्रमित १० देशका रहेको डब्लुएचओले उल्लेख गरेको छ । डब्लुएचओका अनुसार आइतबार विश्वभर एक लाख ३६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो समय अमेरिका, ब्राजिल, भारत र पाकिस्तानमा संक्रमण तीव्र रुपमा बढिरहेको देखिएको छ । जोन्स हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वमा कुल संक्रमितको संख्या ७१ लाख १८ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये चार लाख ६ हजार भन्दा बढीको मृत्यु भएको छ ।
अहिलेसम्म ३० लाख भन्दा बढी मानिस संक्रमण मुक्त भएर घर फर्किएका छन् । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १९ लाख ६० हजार भन्दा बढी रहेको छ । त्यसमध्ये एक लाख १० हजार ९ सय भन्दा बढीको ज्यान गएको छ ।
पछिल्लो समय महामारीको इपिसेन्टर बनेको दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितको संख्या सात लाख सात हजार भन्दा बढी पुगेको छ । त्यहाँ कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ३७ हजार १३४ रहेको छ ।
डब्लुएचओका प्रमुख डा. टेडरोजले अवस्था केही देशमा सुधार हुँदै गएको देखिए पनि सावधानी नअपनाए महामारीको अर्को लहर सुरु हुन सक्ने र सो चरण थप भयानक हुने चेतावनी दिएका छन् ।
उनले भनेका छन्, ‘संक्रमण फैलिरहेका देशहरुमा सावधानी थप प्रभावकारी बनाउनु पर्छ र घट्दो क्रममा रहेका देशहरुले पनि सावधानी कम गर्नु हुँदैन ।’
उनले अमेरिका सहित विश्वका विभिन्न देशमा रंगभेद तथा प्रहरी बरबरता विरोधी प्रदर्शन र संक्रमणलाई जोडेर चासो व्यक्त गरेका छन् ।
डा. टेडरोजले भने, ‘समानता र रंगभेदविरुद्धको विश्वव्यापी अभियानमा डब्लुएचओको पूर्ण समर्थन रहेको छ । हामी सबै प्रकारको विभेद अस्वीकार गर्छौँ । तर सबै प्रदर्शनकारीलाई सुरक्षित रहने गरी प्रदर्शन गर्न हाम्रो आग्रह छ ।’