विश्व अहिले कोरोना भाईरस महामारीको चपेटामा छ । कोरोनाको महामारीबाट बच्नको लागि थुप्रै प्रयास गर्दा पनि यसलाई फैलिनबाट रोक्न सकिएको छैन । यसको चपेटामा नेपाल पनि परिसकेको छ । विश्वमा कोरोना भाईरसको संक्रमण फैलिएको ६ महिना भन्दा बढी भईसकेको छ । कोरोनाको पहिलो संक्रमण सन् २०१९ को अन्ततिर चीनको बुहानबाट देखिएको थियो । नयाँ किसिमको यो भाईरस चीनमा तिब्र गतिमा फैलिन थालेपछि यसले विश्वको ध्यान खिचेको थियो । यसको कुनै उपचार पनि नभएका कारण विश्वभरी यो भाईरसको त्रास फैलिएको थियो ।
यस भाईरसलाई फैलिन नदिनको लागि थुप्रै प्रयास भएको भएपनि यो नियन्त्रणमा नआईकन झन–झन विश्वका अरु देशमा पनि फैलिन पुग्यो । जब यो भाईरस युरोप र अमेरिकामा पुग्यो यसको सक्रमण फैलिने दर झन बढी बढ्दै गयो । एकातिर यो भाईरस फैलिन क्रम नरोकिनु र अर्कोतिर यसको उपचारको लागि औषधी नहुनुले स्वास्थ्य पुर्वाधार कमजोर रहेको नेपाल जस्ता देशमा यसको संक्रमण फैलिए भयावह हुने भन्दै नेपालमा मानिसहरु त्रसित हुन थालेका थिए । विश्वका शक्तिशाली देशहरुले पनि यसको संक्रमण फैलिन र मृत्युलाई रोक्न नसकिरहेका बेला नेपालमा यसको संक्रमण फैलिहाले भयावह स्थिति आउन सक्ने भन्दै मानिस त्रसित थिए ।
यहि मनोविज्ञान बोकेको नेपालले कोरोना संक्रमण भित्रीनै नदिन दोस्रो कोरोना संक्रमित देखिएकै दिन लकडाउनको घोषणा गरकोे थियो । त्यतिबेला भारतमा पनि यसको संक्रमण फैलिन सुरु गरिसकेकाले नेपालमा सीमा नाकाबाट हुन सक्ने जोखिमलाई मद्यनजर गरी सीमामा कडाई गरियो । बिभिन्न प्रयासका बावजुज नेपालमा कोरोना भित्रिनै नदिने नीति फेल भयो । र, देशैभरी यसको संक्रमण एकाएक फैलिदै गयो ।
लामो समयको लकडाउनका बावजुत पनि यसको संक्रमण फैलिन रोकिएन । तर, यसको संक्रमण फैलिने क्रम र मानिसको डरको मनोविज्ञान भने विचित्रको परिवर्तन आउन थाल्यो । सुरुमा चीनमा कोरोना संक्रमण फैलिरहँदा नेपालमा निकै त्रासको वातावरण बनेको थियो । चीनबाट युरोप र अमेरिकामा झनै भयावह अवस्थामा फैलिन थालेपछि नेपालमा यसको त्रास बढेसंगै नेपालमा यसको संक्रमण फैलिए रोक्नै नसक्ने अवस्था आउन सक्ने टिकाटिप्पणी गर्न थालियो । त्यसपछि जब यसको संक्रमण भारतमा फैलिन सुरु भयो अब भने नेपालमा सहजै आउन सक्ने भएकाले यसलाई नेपाल आउन नदिन जनस्तरबाट लकडाउन गरिनु पर्ने सीमा नाका बन्द गरिनु पर्ने आवाज उठ्न थाल्यो ।
त्यसपछि भारतका विभिन्न सहरहरुमा कोरोना फैलिदै गएको समाचारले नेपालमा झन–झन त्रास बढ्दै थियो । पहिलो पटक कैलाली देखि २ सय ५० किलोमिटर टाढा रहेको लखनउमा १ जनामा कोरोना देखिएपछि कैलालीमा अहिले जिल्लामै ४६ जना कोरोना संक्रमित देखिएको भन्दा बढी कडाई गरिएको थियो भने मानिसहरु अहिलेको भन्दा बढी त्रसित देखिन्थे ।
तर लामो समय सम्मको लकडाउनले आर्जित मानिसहरुमा यसको त्रास बिस्तारै कम हुँदै गयो । अरु ठाउँमा कोरोना हुँदैमा आफू किन थुनिएर बस्ने भन्ने सोच विकास हुँदै गयो । सुरुमा भारतमै कोरोना संक्रमण बढीरहेको खबर सुनेर त्रसिने मानिसहरु पछि नेपालमै कोरोना फेला पर्न थालेपछि पनि अरु प्रदेशमा फैलिएको आफ्नो प्रदेशमा समस्या छैन भन्दै आफ्नो प्रदेशमा कडाई गर्न नहुने तर्क राख्न थाले । पछि आफू बसेकै प्रदेशमा पनि कोरोना देखिएपछि पनि आफ्नो जिल्ला भने सुरक्षित रहेको तर्क गर्न थाले । कोरोना फैलिने क्रम रोकिएन् । लामो समयको लकडाउनले आर्जित मानिस रोगको डर भन्दा भोगको डर हुन थाल्यो । पछि आफै बसेको स्थानिय तहमा कोरोना फैलिए पनि साबधान हुनुको साटो कुन वडामा फैलिएको हो त्यस वडामा कडाई गर्नु पर्छ वडा सिल गर्नु पर्छ भन्न थालेका छन ।
हजारै किलोमिटर टाढा कोरोना फैलिरहदाँ आफूलाई असुरक्षित महशुस गर्नेहरुले अब भने केहि किलोमिटरको दुरिमा कोरोना फैलिदा पनि लापरवाही गर्न थालेका छन । अहिले मानिसहरु कोरोना कुन वडामा फैलिएको छ भन्ने खोजि गर्न थालेका छन । आफ्नो वडा सुरक्षित छ वा छैन भनेर मुल्याङ्कन गर्न थालेका छन । देशमै कोरोना देखिने वितिकै आफू असुरक्षित महशुस गर्नेले अहिले छिमेकी वडामा कोरोना देखिए पनि आफ्नो वडामा नभएकोले त्यति खतरा नरहेको तर्क गर्न थालेका छन । यसको अर्थ कोरोना जति टाढा थियो डर बढी थियो भने नजिक आउँदै गर्दा यसको त्रासको वातावरण कम हुँदै गईरहेको छ भने मानिसहरुमा लापरवाही पनि बढ्दै गईरहेको छ । पछिल्लो समय भारतमा कोरोना बढेको समाचार सुनेर घरबाट बाहिर ननिस्कने मानिसहरु अहिले छिमेकी जिल्ला वा वडामा कोरोना देखिएको हो हाम्रोमा होईन भन्दै सडकमा आउन थालेका छन । पछिल्लो सयम त यो विभाजन गाउँ टोल सम्म पनि पुगिसकेको छ । हाम्रो टोलमा संक्रमण छैन । हामी सुरक्षित नै छौ की भन्न थालिएको छ ।
भविष्यमा कोरोना भाईरस छिमेकीको घरमा छ मेरोमा छैन । मेरो घरमा छ म मा छैन । म मा कोरोना छ तर मलाई डर छैन भन्ने मनोविज्ञान विकास हुँदै गईरहेको छ । यसको उदाहरण कोरोना संक्रमित भएर पनि कुनै लक्षण नदेखिदा अस्पतालहरुमा रमाईलो गर्ने नाँचगान गर्ने गरेका खबरले पनि पुष्टि गर्छ । मतलब सयै मिल टाढा कोरोना हुँदा पनि डराउने हामी अब कोरोना संगै जिउन सक्नुपर्छ भन्ने सोच हामीमा विकास हुँदै छ ।
विश्व स्वास्थ्य संगठनले नै कोरोना संसारबाट निर्मुल हुन बर्षौ लाग्न सक्छ भनिसकेको छ । यसको अर्थ हामीले यो भाईरस संगै जिवन चलाउनु पर्ने हुन सक्छ । तर, यसो भन्दैमा हामीले यो भाईरसलाई जानिजानी आफ्नो शरिरमा आमन्त्रण गरिरहेका त छैनै भन्ने तिर ध्यान दिन आवश्यक छ । नेपालमा यसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । यसको औषधी अहिले सम्म पत्ता लागेको छैन । यस्तो अवस्थामा पनि हामीसंग आवश्यक स्वास्थ्य पुर्वाधार पनि छैन । जसले गर्दा यो रोग जनस्तरमा फैलिएर नेपालमा यसको निमुल गर्न बर्षै पनि लाग्न सक्छ । विकसित देशहरुमा जस्तो केहि महिना उच्च गतिमा फैलिएर पछि कम हुँदै गएको जस्तो नहुन पनि सक्छ । बर्षै यहि रोग संग लड्न सक्ने नेपालको आर्थिक अवस्थाले नधान्ने भएकाले हाम्रो अर्थतन्त्र समालिनै नसक्ने गरि धरासायि बन्न सक्छ । हामीले अरु देशको नक्कल गर्नु भन्दा पनि हाम्रो देशको परिवेस, भूगोल र अर्थतन्त्रको अवस्थालाई हेरेर गम्भिर बन्न आवश्यक छ । त्यसले अहिले पनि हामीले रोग संग नडराए पनि रोग लाग्नबाट भने डराउन आवश्यक छ । र, यस रोगको संक्रमणबाट बच्नका लागि पूर्ण साबधानी संगै यसबाट बच्ने उपायहरुलाई कडाईका साथ पालना गर्न आवश्यक छ ।