सप्तरी- टीकापुर घटनामा दोषी करार भई जन्मकैदको फैसला सुनाइएका रेशम चौधरी सहित ११ जनाको रिहाईका लागि आन्दोलन घोषणा गरिएको छ ।‘रेशम चौधरी बचाऔं अभियान संघर्ष समिति’ले शुक्रबार सप्तरीको राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
आन्दोलनको कार्यक्रम अन्र्तगत मेची–महाकाली जागरण अभियान, झापादेखि कञ्चनपुरसम्म संगठन निर्माण र सचेतना कार्यक्रम, प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्री तथा सभामुखलाई ज्ञापनपत्र बुझाउने, मानवअधिकार आयोग, कुटनितिक नियोग, राजनितिक दल तथा मागरमुद्दा मिल्ने अन्य सरोकारवालाहरुसंग टीकापुर घटनाका विषयमा ध्यानाकर्षण तथा प्रदेश स्तरीय तथा काठमाडौं केन्द्रित जनसभा र अन्य दबाबमूलक आन्दोलनका कार्यक्रम रहेको छ ।
यस्तै आन्दोलनका लागि संघर्ष समिति समेत गठन गरिएको छ । राज थारुको संयोजकत्वमा एकसय एक सदस्यीय संघर्ष समिति गठन गरिएको हो । आन्दोलन संघर्ष समितिका संयोजक थारुले टीकापुर घटनाका विषयमा ध्यानाकर्षण अन्य दबाबमूलक आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको बताए ।
यसैगरी, थारुहट आन्दोलन तथा टीकापुर घटनाका आन्दोलनकारीहरु माथि लगाइएका सम्पूर्ण झुठा मुद्दाहरु फिर्ता, २०७२ माघ ८ गते थारुहरुको घर, पसल जलाउने तथा थारुमाथि ज्यादति गर्नेहरुलाई पक्राउ गरी कानुनी कारबाही, थारुहट आन्दोलनका पीडित तथा सहिद परिवारलाई न्यायोचित क्षतिपुर्ति र आन्दोलनका क्रममा सरकार र आन्दोलनकारीबीच भएको सहमति कार्यान्वयनका लागि भेलाले माग गरेको छ ।
थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटना मुद्दामा कैलाली जिल्ला अदालतले रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृज मोहन डगौंरा, राजेश चौधरी, बीरबहादुर चौधरी, प्रदीप चौधरी, ’विद्रोह’ भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरी लगायतलाई आजीवन कारावासको फैसला सुनाएको थियो ।