अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा भारतवाट आएर बिभिन्न क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी मार्फत चेकजाच भैरहेको छ । चेकजाचका क्रममा आरडिटी रिपोर्ट पोजेटिभ आएकाहरुको पिसिआर मार्फत परीक्षण गरिने र नेगेटिभ आएकाहरुलाई घर पठाइन थालेको छ । मंगलबारदेखी सुरु गरिएको चेकजाचमा हाल सम्म आरडिटी रिपोर्ट नेगेटिभ आएका १५६ जनालाई घर पठाइएको छ ।
गोदावरी नगरपालिका भित्रि निर्माण गरिएका बिभिन्न क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी मार्फत कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएका १ सय ५६ जनालाई घर पठाइएको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
भारतवाट आउनेहरुको संख्या बढ्दै जान थालेपछि क्वारेन्टाइन अबधि पुरा गरेका र पहिलो , दोस्रो दिन गरी भित्रिएकाहरुको तथ्याङक अनुसार आरडिटी चेकजाच गरी रिपोर्टको आधारमा घर पठाइन थालेको स्वास्थ्य शाखाका बिष्णु जोशीले जानकारी दिए । उनले रिपोर्ट नेगेटिभ आएर घर फर्किएकाहरु मध्ये १ सय २८ पुरुष र २८ महिला रहेका छन् ।
घर फर्किनेहरुमा अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस संगै गुहश्वरी मा.वि बसन्तपुर , शैलेश्वरी मा.वि बडेहा , समैजी मावि मझगाउँ , शंकर आधारभूत बिधालय खमौरा , सरस्वाती मा.वि ओलानी , ग्वासी मा.वि मालाखेती र खैरानाको स्कूलको क्वारेन्टाइन बस्नेहरु रहेका छन् । अहिले गोदावरी नगरपालिका भित्र भारतवाट आएर बिभिन्न क्वारेन्टाइनमा बस्नेहरुको संख्या २५ सय भन्दा बढी रहेको छ । सबैको आरडिटी परीक्षण गरिने भने पनि किट अभावका कारण समस्या भैरहेको जोशीले बताए ।
उनले किट अभावका कारण आज परीक्षण नहुने बताए । किट खरिदका लागि नगरपालिकामा छलफल चलिरहेकाले नगरपालिकाले आफै किट खरिद गरेर सबैको चाडो भन्दा चाडो चेकजाच गर्न तर्फ आफुहरु लागि रहेको उनले बताए ।
३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ , आज स्वाब संकलन गरिने
चेकजाचका क्रममा हाल सम्म भारतवाट आएका ३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । स्वास्थ्य शाखाका अनुसार नगरपालिकाको वडा नम्बर १० को शंकर आधारभूत विद्यालयको क्वारेन्टाईनकमा रहेकी ४६ बर्षिय महिला, वडा नम्बर ११ को सरस्वती माविको क्वारेन्टाइनमा रहेका २२ बर्षिय पुरुष र वडा नम्बर ६ को शैलेस्वरी मावीको क्वारेन्टाइनमा रहेका ५५ बषिय पुरुषमा आरडिटी पोजेटिभ देखिएको हो ।
आरडिटी पोजेटिभ देखिएका सबैलाई क्वारेन्टाइनवाट ल्याएर मालाखेती अस्पतालको आईसोलेसनमा राखिएको छ । उनीहरु तिनै जनाको पिसिआर मार्फत परीक्षणका लागि आज स्बाब संकलन गरेर धनगढी पठाइने र रिपोर्ट आउन केही दिन लाग्ने जोशीले जानकारी दिए ।
क्वारेन्टाइनवाट घर फर्किएकाहरुको घरमा रातो झण्डा लगाइने
आरडिटी रिपोर्ट नेगेटिभ आएर घर फर्किए पनि जोखिम कायमै रहने भन्दै क्वारेन्टाइनवाट घर फकिएकाहरुको निगरानी जारी रहने नगरपालिकाले जनाएको छ ।
नेपालमा क्वारेन्टाइनमा १४ दिन बसी आरडिटी नेगेटिभ आएर घर फर्किएकाहरुमा पनि कोरोना पोजेटिभ देखिन थालेपछि नगरपालिकाकले घर फर्किनेहरुको पनि बिशेष निगरानी गरिरहने स्वास्थ्य शाखाका जोशीले जानकारी दिए । उनका अनुसार निगरानीका लागि क्वारेन्टाइनवाट घर फर्किएकाहरुको घरमा रातो झण्डा लगाइने भएको छ ।
१४ दिन क्वारेन्टाइनमा बसेको र रिपोर्ट नेगेटिभ आएको भन्दै घरमा गएर गाउँघरमा डुल्ने , मानिसहरुको भिडभाडमा जाने गर्दा जोखिम बढ्न सक्ने भन्दै उनीहरुको घरमा रातो झण्डा लगाइएमा निगरानी गर्न केही सहज हुने उनको भनाई छ । झण्डा लगाएपछि छिमेकीले पनि उनीहरु माथि निगरानी गर्न सक्ने जोशीले बताए ।
'क्वारेन्टाइनवाट घर फकिएकाहरुको सबैको घरको अबस्था एउटै हुन्छ भन्ने छैनन नी सबैको आ आफ्नो अलग्गै कोठा होला तर कतिपयले संगै पनि बस्नपर्ने हुन्छ होला' उनले भने - 'यो अबस्थामा के गर्ने भन्ने बारे पनि हामीहरुले छलफल गरिरहेका छौ ।'