अत्तरिया – लामो समयदेखि भएको लकडाउनले मारमा परेको भन्दै व्यवसाय संचालन गर्न दिन व्यवसायिहरुले माग गरेपनि गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले भने अझै डेढ साता धैर्य गरिदिन आग्रह गरेका छन । बुधबार अत्तरिया उद्योग बाणिज्य संघले गरेको अनौपचारीक छलफल कार्यक्रममा नगरप्रमुख साउँदले अहिले कोरोना महामारी उच्च संक्रमणको चरणमा रहेकोले अझैं डेढ साता धैर्य गरिदिन आग्रह गरेका हुन । उनले लामो समयदेखि भएको लकडाउनले व्यवसायमा परेको मारको बारेमा नगरपालिका जानकार रहेपनि लकडाउनको विकल्प पनि नभएकाले अहिलेको बाद्यतालाई बुझिदिन आग्रह गरेका हुन ।
‘व्यवसायिले तिरेको करबाटै सरकार पनि संचालन हुने हो । व्यवसाय नै बन्द भएपछि कर संकलन हुँदैन ।’ नगरप्रमुख साउँदले भने ‘तर ज्यान जोगाउने कुरा पहिलो प्राथमिकता भएकाले हामीले बाद्य भएर यो कदम चालेका हौ । त्यसैले तपाईहरुले अझै एक देखि डेढ साता धैर्य गरेर बजार बन्द गरिदिनुहोस ।’ उनले अहिले सम्म लकडाउन कार्यान्वय गर्नको लागि व्यवसायिहरुले ठुलो साथ दिएकाले आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको बताए ।
उनले गोदावरी नगरपालिकामा मात्रै भारतबाट २५ सय भन्दा बढी नेपाली आएकाले उनीहरुको परिक्षण नहुँदा सम्म बजार बन्द राख्न उचित हुने तर्क गरे । ‘भारतबाट आएकाहरुको कोरोना परिक्षण हुन बाकी छ । उनीहरुमा कोरोना संक्रमण देखिए अझैं अवस्था भयावह हुन सक्छ ।’ उनले भने ‘हामी एक डेढ सातामा उनीहरुको परिक्षण गर्छै त्यसपछि बसेर बजार संचालनका बारेमा निर्णय गर्दा राम्रो होला भन्ने मेरो सुझाव छ ।’
कार्यक्रममा व्यवसायिहरुले लामो समय देखि भएको लकडाउनले व्यवसायि धरापमा परेपनि सरकारले कर तिर्न ताकेता गरेकाले व्यवसाय संचालनको विकल्प नभएको भन्दै निश्चित समय तोकेर बजार खोल्न पर्ने माग गरेका थिए । अधिकान्स व्यवसायिहरुले सामाजिक दुरी कायम गरेर बिहानको समयमा व्यवसाय संचालन गर्न पाउनु पर्ने माग गरेका थिए ।
अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले नगरपालिकाको निर्णय मान्न आफूहरु तयार भएपनि लकडाउनले घाटी चेपिएको अवस्थामा कर तिर भन्नु गलत भएको बताए । उनले अर्को निर्णय नभए सम्मका लागि तत्कालका लागि बजार बन्द गर्न व्यवसायिहरुलाई आग्रह गरे ।
अनौपचारीक छलफल कार्यक्रमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्ट, नगरपालिकाका जनप्रतिनिधि, बजार व्यवस्थापन समितिका पदाधिकारी र व्यवसायिहरुको सहभागिता हरको थियो ।
पछिल्लो समय देशैभरी बजार व्यवसाय संचालन गर्न पाउनु पर्ने भनै व्यवसायिहरुले माग गरेका छन । सोहि कुरालाई मद्यनजर गरी अत्तरिया क्षेत्रका बजार व्यवसाय संचालन गर्ने वा नगर्ने भन्ने बारेमा छलफल गर्न अत्तरिया उद्योग बाणिज्य संघले अत्तरियामा रहेको आफ्नै भवनमा अनौपचारीक छलफल कार्यक्रम संचालन गरेको थियो ।