अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ बस्ने रतन बि.क बिगत ४÷५ बर्षदेखी भारतको मुम्बईको एक होटलमा काम गदै आएका थिए । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि भारत र नेपाल दुवै तर्फ लकडाउन भएपछि उनी भारतमै अलपत्र भए । साझँ बिहान खाना खाना पनि समस्या हुन थालेपछि उनीले जसरी तसरी नेपाल (आफ्नो घर) फर्किने निर्णय गरे । त्यसपछि उनी त्यहाँवाट निकै डर र त्रासका बिच यही जेठ १० गते गौरीफन्टा नाका हुदै स्वदेश फर्किए ।
सिमावाट उनलाई गोदावरी नगरपालिकाले उद्धार गरेर टिप्पर मार्फत अत्तरियामा रहेको दुर्गालक्ष्मीको क्वारेन्टाइनमा राख्यो । जब उनी स्वदेश फर्किए उनको सबै डर त्रास हरायो । उनलाई कुनै ठूलो युद्धलाई जितेर आएजस्तै लाग्यो । सिमा सम्म निकै सुरक्षा अपनाएर आएका उनी जब यहाँको क्वारेन्टाइनमा बस्न थाले फेरि उनको त्यो डर र त्रास दोहोरिन थाल्यो । गोदावरी २ बनखेतमा रहेको दुर्गालक्ष्मी क्याम्पसमा बनाइएको उक्त क्वारेन्टाइनको अबस्था भद्रगोल भएपछि उनमा त्यो डर र त्रास दोहोरिन थालेको हो ।
क्वारेन्टाइनको अबस्था पुरै भद्रगोल छ , कुनै ब्यबस्था छैन उनले भने भारतवाट त जसोतसो बचेर आयौ अब यो क्वारेन्टाइनमा बस्दा निकै डर लागिरहेको छ । उनले क्वारेन्टाइनमा बस्ने मानिसहरुका बिच कुनै डिस्टेन्स नभएको र सबैले एउटै सामानहरु प्रयोग गरिरहेको बताए । उनले आफु क्वारेन्टाइनमा बसेको ६ दिन भैसक्दा पनि अहिले सम्म सामान्य ज्वरो समेत जाचँ नगरिएको बताए ।
'हामी यहाँ बसेको ६ दिन भैसक्यो अहिले सम्म न त चेकजाच भएको छ , न त यहाँ सेनेटाइजरको ब्यबस्था छ' उनले भने - 'हाम्रो उद्धार त गरियो यो राम्रो कुरा हो तर यहाँको स्थानिय र प्रदेश सरकारले क्वारेन्टाइनमा बस्नेहरुका लागि सामान्य सेवा सुबिधा पनि दिन सकेको छैन ।'
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइनमा भएका ब्यक्तिको कम्तीमा दिनको २ पटक स्वास्थ्य परीक्षण गर्ने , आवश्यक परामर्श दिने , २४ सै घण्टा एम्बुलेन्स सेवा तयारी अबस्थामा राख्नुपर्ने भएपनि त्यहाँ कोही बिरामी भएहाले भने पनि उपचारका लागि अस्पताल सम्म पुञ्याउन पनि घण्टौ कुनुपर्ने अबस्था रहेको छ ।
हिजो मात्रै एक जनाको स्वास्थ्य समस्या देखिदा लामो समयसम्म उनको परिक्षण हुन सकेको थिएन । नाकावाट उद्धार गरेर ल्याएपनि क्वारेन्टाइनमा भने कुनै बास्ता नै नगर्ने गरेको गोदावरी २ कै दिपक बिष्टले बताए । उनले क्वारेन्टाइनमा झन कोरोनाको जोखिम बढ्दो रहेको बताए । भारत देखी सिमा सम्म निकै साबधानी अपाउदै आएपनि आफ्नो ठाउँमा पुग्दा सुरक्षाका कुनै सामाग्रीहरु उपलब्ध नहुदा झन कोरोना संक्रमणको डर बढेको बताए ।
५ दिन अगाडी आएका र आज आएका मानिसहरुलाई अलग अलग ठाउँमा ब्यबस्थित तरिकाले राख्नुपर्ने भएपनि सबैलाई एकै ठाउँमा राख्दा झन संक्रमणको जोखिम बढेको उनको भनाई छ । प्रदेशको राजधानीमा रहेको उक्त क्वारेन्टाइनको अबस्था भद्रगोल हुदा अन्य आसपासका स्थानियहरु निकै त्रसित बनेका छन् । क्वारेन्टाइन बनाउदा सुरुमा क्याम्पस वरपर एक पटक सेनेटाइजिङ गरेको भएपनि अहिले भने एक दिन पनि सेनेटाइजिङ गरिएको छैन ।
उक्त क्वारेन्टाइन २ नम्बर वडाका स्थानियहरुलाई मात्र राख्ने भनिएपनि अहिले बिभिन्न वडाका मानिसहरुलाई पनि सोही क्वारेन्टाइनमा राख्ने गरिएको छ । भारतवाट आउनेहरुलाई वडागत रुपमा छुट्याएर राख्ने गरिएको भएपनि दुर्गालक्ष्मी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा अन्य वडाका मानिसहरुलाई पनि ल्याएर राख्ने गरिएको छ ।
यस्तै क्वारेन्टाइन बनाएको क्षेत्र आसपासको जंगल क्षेत्रमा भारतवाट आएका मानिसहरु बसेको भन्दै सिल गरिएको छ तर सो ठाउँमा अहिले सम्म एक पटक पनि सेनेटाइजर छर्किन सकिएको छैन । कोरोना चेकजाचको लागि आवश्यक पर्ने किटका लागि प्रदेश तथा संघिय सरकारकै भर पर्दा क्वारेन्टाइनमा बस्नेहरुको पनि कहिले कोरोना परीक्षण हुन्छ भन्ने बारे अलमल भैरहेको छ । क्वारेन्टाइमा बस्नेहरुको संख्या बढ्दै गएपनि उनीहरुको स्वास्थ्य चेकजाचका बिषयमा स्थानिय सरकारको ध्यान जान सकेको छैन ।
दुर्गालक्ष्मी क्याम्पसको क्वारेन्टाइनको सम्पर्क ब्यक्ति रहनुभएका गोदावरी नगरपालिका वडा नं २ का वडा सदस्य कमल कडायतले सुरुमा ट्रान्जिट क्वारेन्टाइन बनाएकै कारण क्वारेन्टाइनको अबस्था भद्रगोल बन्न पुगेको बताए । उनले सुरुमा पूर्वी जिल्ला लगाएत भारतवाट लुकिछिपी आउनेहरुलाई उक्त क्वारेन्टाइनमा राख्ने गरेकै कारण अहिले समस्या उत्पन्न भएको बताए ।
'सुरुमा यसलाई ट्रान्जिट क्वारेन्टाइन बनाइयो , जो आउछ यसैमा राख्न थालियो , अहिले पनि त्यही अबस्था देखिन थाल्यो' उनले भने - 'गोदावरी नगरपालिकाका सबै वडाहरुमा आआफ्नो क्वारेन्टाइन छ तर फेरि यही क्वारेन्टाइनमा ल्याएर मात्रै राख्ने गरिएको छ जसले गर्दा सबैको ब्यबस्थापन गर्न समस्या भएको छ ।'
उनले कतिपय वडामा मानिसहरुले अमानबिय ब्यबहार देखाएकै कारणले दुर्गालक्ष्मी क्याम्पसमा बनाइएको क्वारेन्टाइन भद्रगोल हुन पुगेको बताए । सबैले आआफ्नो वडाका नागरिकहरुलाई वडामै बनाएको क्वारेन्टाइनमा राम्रो ब्यबस्थ गर्न सक्थे , तर यहाँ त कसैले हामी राख्दैनौ भन्दै क्वारेन्टाइनवाटै निकालिदिन थाले उनले भने यसो गर्दा सबैले दुख पाइरहेको छन् ।
उनले उक्त क्वारेन्टाइनमा वडा नं २ का करिब ९० जना मात्रै रहेपनि ३ , ४ र ५ नम्बर वडाका समेत यही क्वारेन्टाइनमा आएर बस्न थालेको बताए । यसका लागि सम्बन्धित वडाका प्रतिनिधिहहरुले आआफ्नो वडाबासीहरुलाई राख्न सके कुनै समस्या नहुने उनको भनाई छ । उनले क्वारेन्टाइनमा रहेको समस्या नगरपालिकामा राख्दा कुनै बास्ता नै नहुने गरेको समेत बताए ।
उनले आफुले क्वारेन्टाइन आसपास सेनेटाइजिङ गर्नका लागि बारम्बार नगरपालिकामा जानकारी गराउदा पनि भोली भोली भन्दै टार्ने गरेको बताए । उनले यो महामारीका बेला क्वारेन्टाईनमा रहेका सबैले एक अर्कालाई समस्या नहुने गरी सुरक्षित तरिकाले बस्नुपर्ने सुझाव दिए ।
यता गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टले उक्त क्वारेन्टाइनलाई ब्यबस्थित बनाउनका लागि नगरपालिका लागि रहेको बताए । उनले उक्त क्वारेन्टाइनमा रहेका अन्य वडाका स्थानियहरुलाई पनि सम्बन्धित वडामा पुञ्याउने काम पनि भैरहेको बताए ।
उक्त क्वारेन्टाईमा रहेको बिभिन्न वडाका स्थानियहरुलाई सम्बन्धित वडाहरुमा पुगाइसकेका बताउदै प्रबक्ता भट्टले अब ५ नं वडाका मात्रै बाकि रहेकाले उनीहरुलाई पनि आज पुञ्याइने जानकारी दिए । क्वारेन्टाईन वरपर आज सेनेटाइनर छर्किने भने पनि आज पानी आउदा समस्या भएको र पानी रोकिएपछि सेनेटाईजिङ पनि गर्ने तयारी भएको बताए ।