अत्तरिया – पश्चिम रुकुममा भएको नरसंहारको विरुद्धमा एकीकृत संघर्ष गोदावरी नगर समितिले धनगढीमा प्रदर्शन गरेको छ । आईतबार पश्चिम रुकुम चौरजहारीमा भएको घटनाका अपराधीहरुलाई कडा कारवाहीको माग गर्दै संघर्ष समितिले धनगढीमा प्रदर्शन गरेको हो ।
उनीहरुले प्रदर्शनका क्रममा ‘जातीय हत्या हिंसा बन्द गर, हत्यारालाई फँसी दे, छुवाछूत अपराध हो, दलित एकता जिन्दावाद, छुवाछूतको अत्य गर’ लगायतका नारा लगाएका थिए । धनगढी बजारमा भएको प्रदर्शन संगै उनीहरुले मुख्यमन्त्री कार्यालय अगाडी पनि केहि समय नाराबाजि गरेको समितिका साधारण सदस्य रमेश बिकले बताए ।
मुख्यमन्त्री भट्टलाई बुझाईयो ज्ञापन पत्र
सबैबिच संघर्ष समितिले दोषीलाई कडा भन्दा कडा कारवाहिको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।
संघर्ष समितिका संयोजक बिक्रम विकको नेतृत्वमा गएको टोलीले पश्चिम रुकुम घटनाले सिंगो दलीत समुदाय माथि आक्रमण भएको, घोर मानव अधिकारको उल्लङ्घन भएको, संबिधान ऐन कानुनको धज्जि उडाएकोले विज्ञप्ती मार्फत कडा कारवाहिको माग गरेको थियो ।
‘कर्तव्य ज्यान मुद्धा र जातीय भेदभाव सम्बन्धी कसुरमा मुद्धा चलाईयोस, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको तत्काल व्यवस्था गरियोस ।’ विज्ञप्तीमा भनिएको छ ‘पीडित नवराज बिक लगायत ६ जना र सिगों दलित समुदायले न्यायको महसुस हुनेगरी न्याय सम्पादन गरियोस ।’
जेठ १० गते पश्चिम रुकुमको चौरजहारी घटनामा ५ जनाको मृत्यु भएको थियो भने एक जना अझै वेपत्ता छन । घटनाको सत्यतथ्य छानबिनको माग गर्दै बिभिन्न ठाउँमा प्रदर्शन हुँदै आएको छ ।