धनगढी – भारतबाट आएका नेपालीहरुलाई खाना र पानी अभियान अन्तर्गत आज दिनभरीमा १ हजार ५ सय जनालाई खाना खुवाईएको छ । समाजसेवी श्याम तायलको अगुवाईमा जारी खाना पानी अन्तर्गत भारतका बिभिन्न शहरबाट गौरीफन्टा नाका हुदै आएका १ हजार २ सय व्यक्तिलाई खाना र पानी उपलब्ध गराइएको हो ।
आज पेनिक हिलिङ धनगढीका तर्फबाट ३ सय जनालाई , बिरेन्द्र गुप्ता तथा बिन्नि गुप्ताका तर्फबाट ४ सय जनालाई, ईण्डोनेशियाबाट ईञ्जिनियर टंक पन्तका तर्फबाट ३ सय जनालाई खाना र पानी वितरण गरिएको थियो ।
त्यस्तै त्रिनगर बहुमुखी क्याम्पस, नवदुर्गा माध्यामिक विद्यालय, कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका ३ सय जनालाई खाना वितरण गरिएको थियो ।
आज भारतबाट आएका नेपालीहरुलाई १ सय ४० कार्टुन मिनरल वाटर वितरण गरिएको थियो । आज मारवाडी युवा मञ्चका अध्यक्ष गौरव अग्रवालले ९१ कार्टुन मिनरल वाटर उपलब्ध गराएका थिए ।
अभियानका अगुवा तायलले नेपालीहरु भारतबाट आउनेक्रम जारी रहेसम्म खाना पानी अभियान जारी रहने बताए । भारतबाट आउने नेपालीहरु खाना र पानी खान नपाएर छटपटिएको देखेपछि शुरुवाती दिनदेखि नै यो अभियान अन्तर्गत खाना र पानी वितरण गरिदै आएको छ ।
चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मान सिंह साउँद, कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको सहभागितामा भारतबाट आएका नेपालीहरुका लागि खाना र पानी अभियान शुरु गरिएको हो । पत्रकार दीर्घराज उपाध्यायले अभियानको संयोजनकारी भूमिका निर्वाह गरिरहेका छन् ।
अभियानमा राउण्ड टेबल नेपाल, हाम्रो सानो प्रयास अभियान, काठमाण्डौं, मारवाडी युवा मञ्च, एलायन्स फर पीस लगायतका संघसंस्थाले साथ दिएका छन् ।
भारतबाट आएका ४ सय महिलालाई हाईजेनिक प्याक वितरण
पर्पल फाउण्डेसन काठमाण्डौंको तर्फबाट भारतबाट आएका ४ सय जना महिलालाई सेनेटरी प्याड, साबुन, मास्क सहितको हाईजेनिक प्याक (पर्पल झोला) वितरण गरेको छ ।
पर्पल फाउण्डेसनका तर्फबाट अध्यक्ष निलम शर्माले उपलब्ध गराएको पर्पल झोला भारतबाट आएका महिलाहरुलाई वितरण गरिएको हो ।
आज १ सय जनालाई, हिजो २ सय ५० जनालाई र बिहीवार ५० जनालाई पर्पल झोला वितरण गरिएको हो ।
भारतबाट आएका नेपालीहरुका लागि सञ्चालित खाना र पानी अभियानका कैलाली उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष पुष्कर ओझा र पत्रकार दीर्घराज उपाध्यायले भारतबाट आएका महिलाहरुलाई हाईजेनिक प्याक वितरण गरेका थिए ।