काठमाण्डौ -बेवारिसे र असहाय मानसिक रोगीको उपचार खर्च अब राज्यले नै व्यहोर्ने भएको छ । सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई आर्थिक वर्षको बजेटभित्रै रहेर कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो । बिरामीले उपचारको प्रतिदिन ६ सयसम्म र औषधिको मासिक चार हजारसम्म खर्च पाउनेछन् । उपचार व्यवस्था सीधै अस्पतालले गरेको भए दैनिक अस्पताललाई ६ सय र पुनस्र्थापना केन्द्रमार्फत भएको भए दनिक पाँच सय दिने व्यवस्था गरिएको छ ।
औषधिको रकम भने उपचारमा संलग्न मनोचिकित्सकको प्रेस्क्रिप्सनअनुसार वा गैरसरकारी, निजी अस्पताल, पुनस्र्थापना गृह सञ्चालन गर्ने सामाजिक संस्था तथा निजी संस्था रहेको स्थानीय तहबाट प्रमाणित औषधिको बिलका आधारमा मात्रै प्राप्त हुनेछ ।
अशक्त, असहाय र बेवारिसे मानसिक रोग वा मनोसामाजिक समस्या भएकाहरूको उपचार तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ सरकारबाट स्वीकृत भएसँगै प्रक्रिया अघि बढेको हो । विपन्न नागरिक औषधि उपचार कोषका वरिष्ठ स्वास्थ्य प्रशासक माधव लम्सालका अनुसार सरकारले सो कार्यविधि १६ वैशाखमा स्वीकृत गरेको हो । मानसिक तथा मनोसामाजिक समस्या भएका बिरामीको तथ्यांक संकलन गरेपछि सहयोग रकम वितरण हुनेछ ।
प्रदान गरिने स्वास्थ्य सेवा
मनोसामाजिक तथा मानसिक स्वास्थ्य अवस्थाको विश्लेषण र लेखाजोखा
आकस्मिक उपचार सेवा
अन्तरंग सेवा
मनोचिकित्सकीय सेवा
मनोवैज्ञानिक सहयोग
औषधि उपचार सेवा
आवश्यक चिकित्सकीय सेवा
खाना, लगाउन तथा आवास
लामो समयसम्म पुनस्र्थापना केन्द्रमा राख्नुपर्ने अवस्थामा सोको लागि सिफारिस
डिस्चार्ज, प्रेषण, अनुगमन, अभिलेख तथा प्रतिवेदन