अत्तरिया – अन्तरजातीय प्रेम सम्बन्धका कारण पश्चिम रुकुममा भएको नरसंहारको विरोध र दोषिलाई कारवाहिको माग गर्दै अत्तरियामा बिरोध प्रदर्शन गरिएको छ । विभिन्न दलित संघ संघठनहरु मिलेर निर्माण नगरस्तरीय संघर्ष समितिको आयोजनामा भएको विरोध प्रदर्शनमा घटनाको सत्यतथ्य छानबिन र हत्यारालाई कडा सजाय हुनुपर्ने माग गर्दै बिरोध प्रदर्शन गरिएको हो ।
विरोध प्रदर्शनका क्रममा सहभागिहरुले बिभिन्न नारा बोकिएका ब्यानर बोकी बजार परिक्रमा गरेका थिए । उनीहरुले ‘जातीय हत्या हिंसा बन्द गर, हत्यारालाई फँसी दे, छुवाछूत अपराध हो, दलित एकता जिन्दावाद, छुवाछूतको अत्य गर’ लगायतका नारा लगाएर बजार परिक्रमा गरेका थिए । बजार परिक्रमा पछि बिरोध -यालीमा सहभागीहरुले अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय अगाडी धर्ना दिएका थिए ।
धर्ना कार्यक्रम पछि बोल्दै नगरस्तरिय संघर्ष समितिका अध्यक्ष बिक्रम बिकले हत्यारालाई कडा कारवाहिको लागि दवाव दिन आवश्यक रहेको बताए । उनले दोषीलाई कारवाहि गर्ने सुनिश्चितता नहुँदा सम्म अझैं बिरोधका कार्यक्रम सशक्त रुपमा अगाडी बढाईने बताए ।
समितिका सदस्य टेक बहादुर बिकले विश्व २१ औं शताब्दिमा चलिरहेका बेला नेपालमा भने छुवाछूत जस्तो कुसंस्कार प्रथा कायम रहनु दुःखद भएको बताए । ‘यस्तो कुसंस्कारका कारण दलितले अहिले पनि प्रेम गरेकै कारण ज्यान गुमाउनु परिरहेको छ, यती ठुलो नरसंहार भएको छ । यसको हामीले खुलेर बिरोध गर्न आवश्यक छ ।’ उनले भने ‘अहिलेको घटनामा कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई मारेको नभई एउटा जातीले अर्को जातीलाई मारेको हो, यो निरङ्कुश शासन जस्तै व्यवहार हो ।’ उनले अहिलेको सरकार आफूले बनाएको संबिधानको उल्लघंन हुँदा पनि मौन धारण गरेर बसेको आरोप लगाए । उनले एउटा समुदाय माथि यति ठूलो प्रहार हुँदा पनि सरकार चुप लागेर बसेको बताए ।
गत शनिबार पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विक सहित ६ जनाको हत्या भएको थियो । घटनामा मृत्यु भएका ५ जनाको शव फेला परिसकेको छ भने एक जनाको शव अझै भेटिएको छैन ।