बझाङ – कोरना भाईरस न्युनिकरणका लागि सरकारले गरेको लकडाउनको मौका छोपी बझाङमा अबैध तरिकाले व्यापक वन फडानी भईरहेको पाईएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ बुडखोरीको सेरीनिसान जलजला बासुधारा सामुदायिक वनमा अबैध तरिकाले वन फडानी भएको हो ।
वनको उपभोक्ता समितिले लामो समयदेखि पूर्णरूपमा आलोकाचो दाउरा, काठ कटानी तथा वनलाई क्षति पु¥याउने सबै काम बन्द गरेको भएता पनि अबैध तरिकाले धमाधम काठ चिरानी भइरहेको त्यहाँका स्थानीयले बताएका छन् ।
सेरी निसान सामुदायिक वनका सचिव भरत धामीका अनुसार विगतमा रूख काटेको देखिए पनि मान्छे भेटिँदैन थिए । तर, यो पटक भने जंगल फडानी गरिरहेका व्यक्ति र वनका पदाधिकारीबीच भेट हुने गरेको बताए ।
उनका अनुसार काठ तस्कर गरिरहेकासँग सोधपुछ गर्दा उनीहरूले छिमेकी वन तिखाउडी चाल्लेर्खक सामुदायिक वन उपभोक्ता समूहले पुर्जी दिएर यस्तो काम गर्न लगाएको बताएका छन् ।
‘हामीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा तिखाउडी चाल्लेखर्क सामुदायिक वन उपभोक्ता समूहले आफ्नो पूर्जी दिएर छबिसपाथिभेरा गाउँपालिका–५, थलाराका बासिन्दालाई काठ चिरानीमा प्रयोग गरेको पाइयो ।’ धामीले बताए ।
यता जिल्ला डिभिजन वन कार्यालय बझाङले पनि एक सामुदायिक वनले अर्को सामुदायिक वनलाई पुर्जी काट्न नमिल्ने बताएको छ । ‘एक सामुदायिक वनले अर्को सामुदायिक वनको पुर्जी काट्न मिल्दैन’, डिभिजन वन कार्यालय बझाङका प्रमुख कर्णबहादुर खातीले भने, ‘यसरी अबैधरूपमा वन फडानी गरेको भए सग्ल्न हुनेलाई कारवाहि हुने बताए ।