धनगढी – सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार ५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिसकेका छन । सुदूरपश्चिममा ४० दिन पछि कोरोना संक्रमित देखिएका हुन । यसअघि बैसाख १ गते कैलालीको लम्कीकी एक बृद्धमा कोरोना संक्रमण देखिए यता सुदूरपश्चिममा नयाँ संक्रमित देखिएका थिएनन् ।
सुदूरपश्चिममा पहिलो पटक पहाडी जिल्लामा पनि कोरोना संक्रमण देखिएको छ । आज संक्रमण देखिएकाहरुमा कैलालीका ३, डडेल्धुराका १ र बैतडीमा १ जना रहेका छन ।
कैलालीका संक्रमित बाह्य जिल्लाबाट आएकाहरु
कैलालीको जानकी गाउँपालिका वडा नम्वर ४ का संक्रमित जेठ १ गते भारतबाट आएका थिए । उनी संगै तिन जना आएको भएपनि अन्य २ जनामा भने संक्रमण नदेखिएको वडा अध्यक्ष गगन सिह चौधरीले बताए । उनका अनुसार भारतको महाराष्ट्रबाट आएका उनीहरु कैलालीको कालाकुण्डा नाकाबाट भित्रिएका थिए ।
कालाकुण्डाबाट लुकिछिपि आउने क्रममा संक्रमण देखिएका युवालाई प्रहरीले घर पुग्नु अगाडी नै पक्राउ गरेर जानकी गाउँपालिका वडा नम्बर १ मा रहेको सरस्वती माविको क्वारेन्टाईनमा राखेको वडा अध्यक्ष चौधरीले बताए । उनले अन्य २ जनालाई पनि घरमा पुग्ने वितिकै प्रहरीले पक्राउ गरी क्वारेन्टाईनमा राखेको थियो ।
यस्तै जानकी गाउँपालिका ७ मा केरोना संक्रमण देखिएका २ जना पनि बाह्य जिल्लाबाट आएका थिए । संक्रमित मद्ये २३ बर्षीय पुरुष ईटहरीबाट आएका थिए भने २६ बर्षीय पुरुष बाँकेबाट आएका थिए । सरस्वती माविकै क्वारेन्टाईनमा रहेका उनीहरु मद्ये बाँकेबाट आएका युवक जेठ ३ गते र ईटहरीबाट आएका युवक बैशाख ३० गते आएको वडा अध्यक्ष लक्ष्मण चौधरीले बताए । उनले संक्रमित दुबै जना सरस्वती माविकै क्वारेन्टाईनमा रहेको बताए ।
बैतडीका संक्रमित २ महिना अगाडी भारतबाट आएका
बैतडीको शिवनाथ गाउँपालिका १ का कोरोना संक्रमण देखिएका २२ बर्षीय पुरुष २ महिना पहिले भारतबाट आएका थिए । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिह साउँदले भारतबाट उनी चैत्र महिनामै आएको बताए । उनले संक्रमित युवा स्थानिय एक युवतीको हत्या आरोपमा बैसाख १५ गते देखि नै जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको बताए ।
‘भारतबाट आएको धेरै समय भईसकेको छ । उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने बारेमा अनुसन्धानमै छै ।’ उनले भने ‘अहिले उनको परिवारलाई होम क्वारेन्टाईनमा बस्न लगाउँदै छौ ।’
डडेल्धुराका सक्रमित सरकारी कर्मचारी
डडेल्धुरामा कोरोना संक्रमण देखिएका २८ बर्षिय पुरुष परशुराम गाउँपालीका १० का हुन । उनी भने डडेल्धुराकै एक सरकारी कार्यालयमा काम गर्ने कर्मचारी रहेको वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कार्कीले बताए । उनले संक्रमित व्यक्ति डडेल्धुरा सदरमुकाममै बस्ने गरेको बताए । पछिल्लो पटक चैत्र १४ गते आफ्नो घर परशुराम गाउँपालिका १० मा गएका उनी बैसाख २८ गते सदरमुकाम फर्किएको अद्यक्ष कार्कीले बताए ।
उनले अहिले संक्रमितको परिवारलाई क्वारेन्टाईनमा राख्ने तयारी भईरहेको बताए । संक्रमित युवक केहिदिन अगाडी स्वास्थमा समस्या देखिएपछि अस्पताल भर्ना भएपनि उनी निको भएर घर फकिएका थिए । सोहि क्रममा उनको जिल्ला अस्पताल डडेल्धुरामा स्वाव संकलन गरिएको थियो ।
आज संक्रमित देखिएका सबैको धनगढीको कोरोना प्रयोगशालामा कोरोना परिक्षण गरिएको हो । सुदूरपश्चिममा यसअघि ५ जना कोरोना संक्रमित देखिएकोमा पाँचौ जना निको भएर घर फर्किसकेका छन ।