अत्तरिया - कोरोना नियन्त्रणका लागि नेपाल र भारत दुवै तर्फ लकडाउन भएपछि भारतका बिभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरु अहिले धमाधम स्वदेश फर्किन थालेका छन् । आफ्नो गाउँ ठाउँमा रोजगारी नपाएपछि घरपरिवार पाल्नका लागि भारतका बिभिन्न गएका नेपालीहरु लकडाउन बढ्दै जादाँ स्वादेश फर्किन थालेका हुन् ।
भारतमा मात्रै लाखौको संख्यामा रहेका नेपालीहरु रोग भन्दा भोकले मर्नुपर्ने अबस्थामा आएको भन्दै बिभिन्न ठाउँवाट अहिले सिमानाका सम्म पुगिरहेका छन् । लकडाउन सुरु हुनै लाग्दा सुदूरपश्चिम प्रदेशमा झण्डै डेढ लाख मानिस फर्केकोमा अझै भारतबाट दुई देखि तीन लाख मानिस फर्किने विज्ञहरुले अनुमान गरेका छन् ।
भारतीय सीमानाका गौरीफन्टा नाकाबाट दुई दिनको अबधिमा झण्डै ३ हजारको हाराहारीमा मानिसहरु भित्रिएका छन् । गौरीफन्टा नाकाबाट दुई दिनयता दुई हजार आठ सय ६० जना भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । हिजो बिहीबार मात्र दुई हजारभन्दा बढी नेपाली नागरिकहरु भित्रिएको हुन् ।
धनगढीबाट नजिक पर्ने भारतीय बजार पलियामा रहेका आठ सय ५८ जनालाई बुधबार उद्धार गरिएको थियो । पछिल्लो दिनहरुमा भारतका बिभिन्न ठाउँमा रहेका नेपालीहरु घर फर्किन पाइने भन्दै धमाधम सिमानाका सम्म पुग्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
उनका अनुसार भारतबाट फर्केकालाई लिएर बिहीबार बेलुकी ३० वटा बस विभिन्न जिल्लामा गएका थिए । लकडाउनका बीच नाकामा भारतबाट फर्कनेहरूको भिड बढ्दै गएपछि उनीहरूको व्यवस्थापनमा पनि समस्या उत्पन्न भएको छ । अधिकांशको स्वास्थ्य जाँच गरिएको छैन भने सामाजिक दूरी पनि कायम गरिएको छैन ।
दुई दिनको अवधिमा फर्किएकामध्ये ६ सय ७० जनाको मात्र आरडिटी जाँच गरिएको छ । जाँच गरिएकामध्ये २० जनामा आरडिटी पोजेटिभ देखिएको छ । तीमध्ये ११ जना सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका छन् । सयौँको भिडबीच आरडिटी पोजेटिभ देखिएका नौजना सम्पर्क्विहीन भएको बताइएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले भने, ‘आरडिटी पोजेटिभ देखिएका केही व्यक्ति भिडभाडमा सम्पर्क्विहीन भएको जानकारी आएको छ । उनीहरूलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ ।’ भारतबाट फर्केकाको स्वास्थ्य जाँचका लागि आरडिटी किटसँगै जनशक्तिको पनि अभाव देखिएको छ ।