काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन महीनालाई पुग्ने खाद्यान्नको मौज्दात रहेको जनाएको छ । मन्त्रालयले देशमा आयात हुने प्रक्रिया पनि जारी रहेकाले अहिले खाद्यान्नको कुनै समस्या नरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार दाल, चामल, तेल, नुन, चिनी, पेट्रोलियम पदार्थ, गहुँ, सिमी र फापरको मौज्दात पर्याप्त छ। मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात रहेको बताइन् । उनका अनुसार व्यापार कम्पनीसँग १६ हजार ५०५ र उद्योगी(व्यवसायीसँग ७५ हजार मेट्रिक टन चामल मौज्दात छ ।
“दुर्गमका २३ जिल्लामा मात्रै दुई हजार ८४३ मेट्रिक टन चामल मौज्दात छ,” केसीले भनिन, “यस्तै, जिल्लाहरूमा ६ ६४ क्विन्टल फापर, ५२४ क्विन्टल सिमी, ५५७ मेट्रिक टन गहुँ र १८ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात छ ।”
यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनसँग एक लाख ३७ हजार ९६६ मेट्रिक टन नुन मौज्दात छ । दुर्गमका जिल्लामा मात्रै दुई हजार ८२५ मेट्रिक टन नुन मौज्दात रहेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार साल्ट ट्रेडिङसँग दुई हजार २६३ र निजी क्षेत्रसँग ६३ हजार २०७ मेट्रिक टन चिनी, १६ हजार मेट्रिक टन दाल र ८३ हजार मेट्रिक टन खानेतेल आयातको प्रक्रियामा छन् ।
लकडाउनमा कमै सवारी साधान चलेकाले नेपाल आयल निगमसँग प्रशस्त मात्रामा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास मौज्दात रहेको केसीले बताइन् ।