काठमाडौं – सरकारले वैदेशिक रोजागारीका सिलसिलामा विभिन्न देशमा रहेका र कोरोना महाकारीका कारण अलपत्र परेकाहरुलाई स्वदेश फर्काउने भएको छ ।
विभिन्न देशमा रहेका नेपालीलाई कसरी उद्धार गरेर ल्याउने भन्ने बारेमा विभिन्न चरणमा छलफलपछि कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कायविधि बनाउने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको उच्चस्तरिय समितिको बैठकमा भारतसहित तेस्रो मुलुकबाट आउनेहरुको व्यवस्थापनका विधिका बारेमा छलफल भएको हो । कार्यविधि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तयार पार्नेछ ।
सरकारले विदेशबाट फर्किनेहरुको व्यववस्थापन गर्न सातै प्रदेशमा एक–एकजना संघीय सरकारका मन्त्रीहरुलाई ‘फोकल पर्सन’ तोकेको छ । उनीहरुले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्नेछन् । भारत बाहेक नै करीव ६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरिएको छ ।
संघीय सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङलाई संयोजकको जिम्मेवारी दिएको छ । त्यस्तै प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतिमा महिला वालवालिकामन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टले संयोजन गर्नेछन् ।
सबै पक्षका सुझावहरु लिएर विदेशबाट फर्काउने र त्यसपछिको व्यवस्थापन गर्ने सम्बन्धमा कार्य्विधि बनाएर मन्त्रिपरिषद बैठकमा पेश गरिने महिला वालिवालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताए ।
भारतबाट आउनेका कारण कोरोना संक्रमण तीब्र भइरहेका बेला थप मान्छेलाई कसरी भित्र्याउने र कहाँ राख्ने भन्नेबारेमा पनि कायविधि बनाइने भएको छ ।