डडेल्धुरा – जिल्लाका महिलाहरुका लागि काफल राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । जेठ महिना सुरु भए सँगै डडेल्धुरा सदरमुकाममा काफलको व्यापार बढेको हो ।
काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको व्यापार बढ्न थालेको स्थानीय बताउँछन् । बृद्ध महिला देखि बालबालीकाहरु किलोको ८० रुपैँयाका दरले काफल बिक्री गरीरहेका छन् ।
काफल हुने अधिकांश क्षेत्रमा काफल पाकि नसकेको हुनाले यो समयमा अलि बढी दाम पाइने गरेको अमरगढी–४ हरडीका लक्ष्मीदेबीले बताइन् । पोहोरको तुलनामा यो बर्ष कोरोनाले गर्दा भने काफल बिक्रीमा सोचे जस्तो राम्रो आम्दानी नभएको उनको गुनासो छ ।
लकडाउनको समयमा काफल बेच्न सदरमुकाम आउन धेरैले रोक लगाएपनि दैनीकी खर्च जुटाउनकै लागि भएपनि सदरमुकाम पुग्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ । काफल पाक्न सुरु भए संगै यी क्षेत्रका महिला र बालबालिकाहरु काफल टिपिरहेका र बेचिरहेका भेटिन्थे भने यो समयमा सहर बजार बन्द भएकोले चहलपहल शुन्य छ ।
एकातिर कोरोना भाइरस (कोभीड–१९)ले गर्दा अहिले सिंगो देश लकडाउन छ भने, अर्कोतिर काफल बिक्रेताहरु साँझ–बिहानको छाक टार्नकै लागि काफल लिएर सदरमुकाम सम्म पुग्न थालेका छन् ।
दिउँसो भरी काफल टिपेर दोस्रोदिन विहानै जिल्ला सदरमुकाममा काफल टिपेर बिक्री गर्न आउने गरेको स्थानीय गौरी विष्टले बताइन् । लकडाउन अर्थात बन्दाबन्दिकाका कारण विगतको वर्षको भन्दा यसवर्ष काफल बिक्री गर्न समस्या भइरहेको उनको भनाइ छ ।
‘काफल बिक्री गरेर साँझ विहानको छाँक टाछौँ । जंगलमा राताम्ये भएर काफल पोकेका छन् । लकडाउनले घरमै भोक भोकै बस्नु भन्दा काफल टिपेर बिक्री गर्न आउँछौँ ।’ उनले भनिन, ‘दैनीक ४/५ सयको जति बिक्री गर्छु । र यसैबाट छोराछारीको लागि कापिकलम किन्छु ।’
अरु वर्ष जिल्ला सदरमुकाममा काफल किनबेच गर्नेहरुको भिड लाग्ने गरेको भएपनि यसवर्ष भने सुनसान रहेको स्थानीय व्यापारी रोशना सेठिले बताइन् । विहान र साँझको समयमा लकडाउन खुकुलो हुने भएकाले काफल बिक्री गर्न गाउँबाट स्थानीयहरु जिल्ला सदरमुकाम पुग्ने गरेको उनको भनाइ छ ।
‘प्रती किलो ८० रुपँैयामा काफल खरिद गरेर आफूहरु हामीहरु १०० रुपैँयामा बिक्रि गर्ने गरेका छौँ । तर, आफूहरुले सोचे जस्तो काफल बिक्री गर्न सकेका छैनौँ ।’ उनले भनिन् । यस सिजनमा काफल, यस क्षेत्रका विद्यार्थी र महिलाका लागि राम्रो आम्दानीको स्रोत हुन्थ्यो भने अहिले यो कोरोना भाइरसले गर्दा केहि खस्किएको छ ।