दाङबाट बैशाख ३१ गते ६४ जना मजदुर कैलालीको अत्तरियामा पुगे । दाङको एक ईटा भट्टामा काम गर्ने उनीहरु लकडाउनका कारण काम ठप्प भएर समस्यामा परेपछि प्रशासनले नै सवारी साधनको व्यवस्था गरेर अत्तरियामा पु-याएको थियो । ति ६४ जना मद्ये १ जना पनि अत्तरिया क्षेत्रका थिएनन् । ६४ मद्ये २६ जना कन्चनपुरको कृष्णपुर, ७ जना धनगढी र २१ जना गोदावरी नगरपालिका ९ का थिए । उनीहरुका अनुसार दाङ प्रशासनले उनीहरुलाई सुदूपश्चिमका भएकाले यहाँको मुख्य चोक अत्तरियामा छोडिदिने र त्यहाँ बाट आ– आफ्नो जिल्ला अथवा स्थानिय तह संग सम्पर्क गरेर जान भनेको थियो ।
यो एउटा पछिल्लो उदाहरण मात्रै हो । पछिल्लो समय भारत लगायत बिभिन्न पुर्वी जिल्लाहरुबाट उद्धार गरी ल्याईएकाहरु अत्तरिया चोकमै रोकिने गरेका छन । सुदूरपश्चिमकै जक्सनको रुपमा रहेको यो क्षेत्रबाट जुनसुकै ठाउँमा जान सजिलो हुने भएकाले यहाँ धेरै ठाउँका मानिस ओहोर–दोहोर गर्ने गरेका हुन्छन । लकडाउनपछि सीमामा अलपत्र परेका देखि लिएर लुकेर भारतबाट आउनेहरु पनि पहाडका जिल्लाहरुमा जानका लागि अत्तरियाबाट कुनै न कुनै सवारी साधन पाउने आशामा यहाँ सम्म पुग्ने गरेका छन । बिभिन्न ठाउँबाट उद्दार गरिएकाहरु पनि अत्तरिया सम्म पुग्ने र यहाँबाट बिभिन्न ठाउँ जानका लागि सवारी साधनको बन्देबस्त गर्ने गरेका छन । जसका कारण यस्ता व्यक्तिको संख्या बढ्दै गएपछि पछिल्लो समय प्रदेश सरकारले अत्तरियामा प्रदेश क्वारेन्टाईन ट्रान्जिट पोईन्ट नै स्थापना गरेको छ ।
ट्रान्जिट पोईन्ट भएकाले सुदूरपश्चिमका अन्य बजार क्षेत्रको तुलनामा अत्तरियामा ठूला सवारी साधन बढी चल्ने गरेका छन । जसले गर्दा यस क्षेत्रमा कोरोनाको उच्च जोखिम भएको भन्दै लकडाउन हुनु अगाडी नै बजार बन्द गर्ने निर्णय गरिएको थियो । चैत्र ९ गते अत्तरियामा बसेको सर्वपक्षिय बैठकले अत्तरिया बजारलाई बन्द गर्ने निर्णय गरिएको थियो । व्यवसायिहरुले नै बिभिन्न ठाउँबाट आएका मानिसहरु पसलहरुमा सामान किन्न आउँने गरेका कारण कोरोनाको जोखिम बढेको भन्दै बजार बन्द गर्ने निर्णय गर्नुपर्ने माग गरेका थिए ।
सुदूपश्चिममा पहिलो कोरोना संक्रमित चैत्र १४ गते भेटिएका थिए । उनको ट्राभल हिस्ट्री पनि अत्तरिया संगै जोडिएको थियो । नेपालगंजबाट आउँदा उनले अत्तरियामा गाडी बदलेर धनगढी गएको खुलको थियो । जसले गर्दा केहि समय यो क्षेत्रका मानिस निकै त्रसित समेत बनेका थिए । ती व्यक्ति लकडाउन हुनु अगाडी नै अत्तरिया भएर धनगढी गएका थिए । पछिल्लो समय लकडाउन भए पछि पनि चैत्र ३० गते काठमाण्डौंमा कोरोना संक्रमण देखिएकी महिलाको ट्राभल हिस्ट्री पनि अत्तरिया संगै जोडिन पुगेको छ । ३३ बर्षिय ति महिला अत्तरियामै सवारी साधन बदलेर काठमाण्डौं गएकाले उनको सम्पर्कमा आएको जोखिमयुक्त क्षेत्रलाई अहिले सिल नै गरिएको छ । यि बिभिन्न घटनाक्रमले अत्तरिया लकडाउन भएर पनि जोखिममा छ भन्ने कुरालाई पुष्टि गर्न मदत गर्छ ।
यस क्षेत्रको स्थानिय सरकारका प्रमुख लगायत जनप्रतिनिधिहरुले पनि पटक–पटक अत्तरिया क्षेत्र सुदूरपश्चिममै बढी जोखिमयुक्त क्षेत्र हो भनेर भन्दै आएका छन । अन्य स्थानिय तह भन्दा जोखिम बढी हुने मुख्य कारण यो सुदूरपश्चिमका धेरै ठाउँमा जाने ट्रान्जिट पोईन्ट हुनु हो । त्यस्तै भारत लगायत तेस्रो मुलुकमा रोजगारी गर्न जानेको संख्या धेरै हुनु र उनीहरु लुकिछिपी आउने क्रम नरोकिनु, लकडाउनको पूर्ण पालना नहुनु, बजार क्षेत्रमा घना बस्ती हुनु, प्रयाप्त परिक्षण नहुनु लगायतका कारणले पनि यो क्षेत्र अन्य ठाउँको तुलनामा बढी जोखिममा छ । अन्य ठाउँभन्दा बढी जोखिम छ भनिदै आएको भएपनि यस क्षेत्रमा अन्य ठाउँका भन्दा बढी सतर्कता र पूर्व तयारी पनि हुन आवश्यक थियो । तर त्यो भने आवश्यक मात्रामा हुन सकेको छैन ।
स्थानिय तहको भूमिका
कोरोना महामारीको जोखिमबाट बचाउनका लागि लकडाउन गरिए संगै अहिले स्थानिय सरकारको भूमिका बढेको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनको प्रभाव कम गर्न अहिले स्थानिय तहले महत्तपूर्ण जिम्मेवारी निभाईरहेका पनि छन । सायद २२ बर्ष देखि स्थानिय तह बिहिन बनेको नेपालमा अहिलेको परिस्थितिमा स्थानिय तह नभईदिएको भए व्यवस्थापन गर्न यो भन्दा झनै बढी चुनौती थपिन पनि सक्थो । अहिले बलियो स्थानिय सरकार बन्नु र वडा वडामा जनप्रतिनिधि हुँदा जनताका अपेक्षा पनि बढ्नु स्वाभाविक हो । यद्दपी अहिले स्थानिय तहले जिम्मेबारी अनुसारको प्रभावकारी भूमिका खेल्न नसकेको, राहत वितरणमा अनियमितता गरेको, पहुचका आधारमा राहत वितरण गरेको, भारत लगायत जोखिमयुक्त ठाउँबाट आएकाहरुको तथ्याङ्क संकलन गरी क्वारेन्टाईनमा राख्न नसकेको लगायतका गुनासा आउने गरेका छन । त्यस्तै अहिलेकै परिस्थितिमा पनि आफ्नो राजनीतिक स्वार्थ पुरा गर्ने खेल पनि हुने गरेका छन । जुन विडम्बनापूर्ण छ ।
के गर्न सकिन्छ ?
नेपालमा कोरोना भाईरसबाट एक जनाको मृत्यु समेत भईसकेको भएपनि यो क्षेत्रमा हामी कोरोना भाईरसको महामारीबाट कसरी जोगिने भन्ने चरणमै छौ । अझैै हामीले महामारीको सामना गर्नु परेको छैन । त्यो दिन नआओस् पनि । तर त्यस्तो परिस्थिति आईहाले हामीले के गर्ने भनेर तयारी गर्न भने आवश्यक भईसकेको छ । कोरानाका विश्वभरिका घटनाक्रम र नेपालमा पछिल्लो समय बढीरहेको यसको प्रकोपलाई मद्यनजर गरी स्थानिय तह मार्फत के– के गर्न सकिन्छ भनी यसको तयारीमा जुट्न आवश्यक भईसकेको छ । अब स्थानिय तहले प्रचारको लागि हुने राहत विरतण र संकलन गरेको फोटो खिच्ने काममा अल्झिनु हुँदैन ।
डब्लुएचओले नै यो महामारी सकिन बर्षै पनि लाग्न सक्छ भनेर चेतावनी दिईसकेकोले अबका दिनमा २/४ किलोग्राम राहत वितरण गरेर समस्याको सामाधान नहुन सक्छ । यो तत्कालका लागि अति आवश्यक छ तर यहि काममा नेतृत्व तह नै अल्भिन आवश्यक छैन ।
नेपालमा कोरोना भाईरसबाट यो लेख तयार पार्दा सम्म १ जनाको मृत्यु भईसकेको छ भने २ सय ९१ जनामा यसको संक्रमण देखिसकेको छ । कोरोना संक्रमणले दोस्रो चरणमा प्रवेश गरेजस्तै स्थानिय तहले पनि दोस्रो चरण अनुसारको तयारीमा लाग्नु पर्ने आवश्यकता भईसकेको छ । अहिले लकडाउन कसरी पालना गराउने, लकडाउनले समस्यामा परेकाहरुको उचित व्यवस्थापन कसरी गर्ने र महामारी फैलिहाले के गर्ने भन्ने चुनौती एकैसाथ आएको छ । यो सामान्य चुनौती होईन तर यस संग जुध्नु बाहेक अर्को विकल्प पनि छैन ।
त्यसैले उच्च जोखिममा रहेको यस ठाउँलाई कोरोना संक्रमणबाट बचाउनका लागि स्थानिय तहले अहिले सम्म प्रतिपादन भएका सिद्धान्तको पूर्ण पालना गराउनुका साथ–साथै थप स्थानिय परिवेस अनुसारका ठोस कदम चाल्न आवश्यक छ । अहिले सम्म यस क्षेत्रमा संक्रमण नदेखिएकाले बाह्य देश अथवा जिल्लाबाट आउनेहरुबाट संक्रमण फैलिने खतरा छ । त्यसका लागि वडा–वडामा सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारीलाई तथा स्थानिय मार्फत बाह्य क्षेत्रबाट कोहि पनि बिना चेकजाँच नआओस् भन्नका लागि निगरानी बढाउन आवश्यक छ । बजार क्षेत्रमा बढी जोखिम भएकाले यसको भिडभाड हुन नदिने, सामाजिक दुरी कायम गराउन अनुगमन गर्ने, यस क्षेत्रबाट आवतजावत हुने अत्यावश्यक सवारी साधनको बिषेश निगरानि राख्ने काम गरिनुपर्छ । त्यस्तै नगर क्षेत्र भित्रका कति जना भारत लगायत बाह्य मुलुकमा रोजगारी तथा अन्य कामको शिलशिलामा गएका छन भन्ने लगत संकलन गरेर उनीहरु तत्काल आईहाले के गर्ने भन्ने बिषयमा पुर्व तयारी गर्ने काम तत्काल गर्न आवश्यक भईसकेको छ ।
वास्तविक लकडाउनले समस्यामा परेकाहरुलाई राहत वितरण गर्ने, लकडाउनमै सावधानी पूर्वक आय–आर्जन गर्न सकिने कार्यक्रम संञ्चालन गर्ने, लकडाउनमै संचालन गर्न सकिने कामहरुलाई प्रोत्साहन गर्ने, निजी क्षेत्र संग समन्वय बढाएर आपूर्ती र निर्यात सहज बनाउने लगायतका काम गरिनु पर्छ। लकडाउनमा पनि किसानहरुले कृषि उपज उत्पादन गरिरहेका छन तिनलाई बजार सम्म पु-याउने र उनीहरुलाई आवश्यक बिउबिजन लगायतका सामान गाउँ–गाउँमा पु-याउने काम गर्न आवश्यक छ ।
त्यस्तै संक्रमण देखिन सुरु भईहाले के गर्ने भन्ने बारेमा पनि आवश्यक छलफल र तयारी आवश्यक छ । जसका लागि प्रयाप्त क्वारेन्टाईन, आईसोलेसन निर्मार्ण गर्ने, एम्बुलेन्स तथा आवश्यक सवारी साधनको व्यवस्थापन गर्ने, आवश्यक स्वास्थ्य सामग्री र जनशक्ती तयारी अवस्थामा राख्ने लगायतका काम तत्कालै गर्नुपर्ने देखिन्छ । त्यस्तै अहिलेको लकडाउनले अर्थव्यवस्थामा पारिरहेको प्रभावको पनि शुक्ष्म रुपमा अध्ययन गरी स्थानिय तहले के गर्न सक्छ भन्ने बारेमा पनि सोच्ने बेला आईसकेको छ ।