अत्तरिया – पाँच दिन अगाडी अत्तरिया हुँदै काठमाण्डौं गएकी महिलामा कोरोना संक्रमण देखिए पनि उनको सम्पर्कमा आएकाहरुका थ्रोट स्वाव संकलन हुन सकेको छैन । कैलालीको गोदावरी नगरपालिका १ अत्तरियाको विजयनगरमा चैत्र २८ गते कोरोना संक्रमित महिलाको सम्पर्कमा आएकाहरुको स्वाव संकलन गरिने भनिएको भएपनि भिटिएम अभावको कारण स्वाव संकलन हुन नसकेको हो । बैसाख २८ गते कन्चनपुरको वेदकोट नगरपालिका १० बाट काठमाण्डौ जाँदा २ घण्टा अत्तरियामा बसेकी ३३ बर्षीय महिलाको सम्पर्कमा आएका ८ ओटा घरका ७० जनाको स्वाव संकलन गर्ने भन्दै उक्त घरहरुलाई सिल गरिएको थियो ।
संक्रमित महिलामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा परिक्षण गर्दा बैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएपछि त्यसको भोलिपल्ट उनको सम्पर्कमा आएका घरहरुलाई सील गरेर राखिएको छ । उनीहरुको बिहिबार स्वाव संकलनका लागि गोदावरी नगरपालिकाले तयारी गरेको भएपनि भिटिएम अपुग हुँदा स्वाव संकलन हुन सकेन ।
गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख विर बहादुर कुँवरले आज स्वाव संकलन गर्ने भनेपनि भिटिएम अभाग भएका कारण र केहि दिन कुरेर परिक्षण गर्दा अझै स्पष्ट नतिजा आउने भएकाले स्वाव संकलन नभएको बताए । ‘संक्रमितको सम्पर्कमा आएको २/४ दिन भित्रमा स्वाव संकलन गर्दा कोरोना संक्रमण नदेखिन सक्छ । संक्रमितको संम्पर्कमा आएको क्षेत्र सिल गरिएकाले १/२ दिन ढीलो हुँदा त्यति फरक पर्दैन ।’ स्वास्थ्य शाखा प्रमुख कुँँवरले भने । उनले संक्रमितको सम्पर्कमा आएकाहरुको ६/७ दिन पछि परिक्षण गर्दा सहि रिपोर्ट आउने चिकित्सकहरुबाट जानकारी पाएको बताए ।
नगरपालिकाको आजै स्वाव संकलन गर्ने योजना बनाएको भएपनि बिहानै देखि भिटिएमको लागि पटक– पटक धनगढी धाउँदा पनि नपाईएपछि स्वाव संकलनको काम रोकिएको थियो । गोदावरी नगरपालिका श्रोतका अनुसार आज बिहान देखि २ चोटी धनगढी भिटिएम लिन जाँदा पहिलो पटकमा २० ओटा मात्रै दिएर पठाएको र पछि जाँदा पनि १० ओटा मात्रै पाईएको थियो । उनीहरुले २ घण्टा मात्रै अत्तरियामा बसेकाले धेरैको स्वाव संकलन गर्न आवश्यक नभएको भन्दै कम भिटिएम दिएका थिए । तर नगरपालिकाले ७० जनाको स्वाव संकलन गर्ने भनेर सो क्षेत्रलाई सिल गरिसकेकोले बरु केहि दिन पर्खेर भएपनि सबैको स्वाव संकलन गर्ने योजना बनाएकोे नगरपालिकाले जनाएको छ ।
सुदूपश्चिम प्रदेश सरकारको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने आज २/३ दिन मात्रै भएकाले तुरुन्तै परिक्षण आवश्यक नभएको दाबी गरे । ‘यसको सर्ने अवधि २/३ दिन देखि ८/९ दिनको बिचमा हो ।’ उनले भने – ‘आज त २/३ दिन मात्रै भयो, तुरुन्तै चाँहि नगर्दा पनि राम्रै होला ।’। जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले भिटिएम अभावकै कारण स्वाव संकलन नरोकिएको बताउँदै आज मात्रै काठमाण्डौंबाट १४ देखि १५ सयको हाराहारीमा भिटिएम आएको बताए ।
यद्दपी संक्रमित महिलाको सम्पर्कमा आएको घरमै किराना पसल भएको र त्यो पसलमा दैनिक मानिसहरुको आवतजावत भईरहने भएकाले सिल गरिएको बाहेकको क्षेत्र पनि जोखिममा छ । सक्रमित महिलाको सम्पर्कमा आएको घर संगै आधा दर्जन पसल जोडीएकाले त्यस क्षेत्रबाट सामान खरिद गर्ने उपभोक्तामा पनि जोखिम बढेकाले छिटो परिक्षण गर्नुपर्ने स्थानियको माग छ । बिजयनगर टोल सुधार समितिका सचिब निर्मल गुरुङले सो क्षेत्रमा बढी मानिसको ओहोरदोहोर भईरहने भएकाले पुरै अत्तरिया क्षेत्र नै जोखिममा पर्न सक्ने भएकाले छिटो परिक्षण गर्दा राम्रो हुने बताए । उनले छिटो परिक्षण गर्दा स्पष्ट नतिजा नआउने कारणले नै ढिलाई गरेको भए केहि दिन कुर्दा पनि फरक नपर्ने तर स्वास्थ्य सामाग्री अभाव देखाउँदै परिक्षणमा ढिलाई गर्न नहुँने बताए ।