काठमाडौं – नेपालमा अतिक्रमित भूमि कालापानी – लिपुलेकको मुद्दा चर्किँदा भारतले त्यस क्षेत्रमा आफ्नो उपस्थिति बढाएको छ ।
अहिले भारतीय सेनाका हेलिकोप्टर नेपाली आकाशमा उडिरहेका छन् । नेपाली भूमि कालापानी कब्जा गरेर सैन्य क्याम्प खडा गरेको भारतले सैनिक हेलिकप्टरबाट त्यहाँ ओहोरदोहोर बढाएको छ ।
सोमबार मात्रै चारपटक भारतीय सेनाको हेलिकोप्टरले ओहोरदोहोर गरेको दार्चुलाका पत्रकार भोजराज जोशीले बताएको कुरा पहिलो पोष्टले लेखेको छ ।
‘भारतीय सेनाको हेलिकोप्टर खेपका खेप उडिरहेका छन् । कालापानीमा समान पु¥याउन होला,’ सदरमुकाम खलंगाबाट फोन सम्पर्कमा आएका उनले अनुमान गरे, ‘सडक उद्घाटन भएपछि यस क्षेत्रमा चहलपहल बढेको छ । धारचुलाका एसडिएम पनि हिजो कालापानी गएको सुन्नमा आएको छ ।’
भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक–मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि नेपालमा एकपटक फेरि कालापानी र लिपुलेक मुद्दा चर्किएको छ । सरकारले कालापानी क्षेत्र नजिकै पर्ने दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बीओपी स्थापना गर्ने र तत्कालै सुरक्षाकर्मी पठाउने तयारी गरिरहेको छ । यहीँ बुधबार सेनाको हेलिकोप्टर मार्फत सशस्त्र प्रहरीको टोली छाङरु पठाउने सरकारी तयारी छ ।
नेपालबाट सुरक्षाकर्मी पठाउने, कूटनीतिक वार्ता गर्ने तयारी भइरहँदा भारतले कालापानीमा सेनाका हेलिकोप्टरको उडानलाई तीव्र पारेको छ । यसलाई सामान्य रुपमा लिन नसकिने दार्चुलाका अर्का पत्रकार नरेन्द्र कार्कीले संकेत गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा हेलिकोप्टरको तस्विर सार्वजनिक गर्दै उनले प्रश्न गरेका छन, ‘केही देख्नुभयो ?’ जवाफमा धेरैले भारतीय सेनाको हेलिकोप्टर कालापानीतिर जाँदै गरेको र दिनमा ५ पटकसम्म उड्ने गरेको प्रतिक्रिया दिएका छन् । केहीले भारतीय हेलिकोप्टर दार्चुला सदरमुकाम खलंगामाथिको आकाशबाट पनि उड्ने गरेको भन्दै आक्रोश पोखेका छन् ।
जिल्ला प्रशासन कार्यालयले पनि कालापानी तर्फ भारतीय सेनाका हेलिकोप्टर उडिरहेको पुष्टि गरेको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले दैनिक ५÷६ पटक भारतीय हेलिकोप्टर कालापानीतर्फ गइरहेको बताए ।
‘मेसिन, सामान ढुवानी गर्न हेलिकोप्टर रेगुलर गइरहेका छन् । सेना राखेको छ । बन्दोबस्तीका सामान लग्छ होला,‘ उनले भने ।