हामी छौँ जलस्रोतले जगतमा दोस्रो ठुलो स्थानमा
माटो उर्वर उत्तिकै पनि हुँदा खाद्यान्नको मारमा
बेच्दैछौ पसिना विवेक अहिले खाडी पसेका युवा
एक्लै छन् सब बृद्ध गाउँघरमा दिक्दार आमा बुवा
।।१।।
तर्कारी परदेशको हुन गयो पाक्ने यहाँ केवल
के फल्दैन यहाँ गरे जमिनमा केमा भयौँ दुर्बल ?
बारीमा लटरम्म फल्न नसकी बाली हराए कति
हाम्रो जाँगर सीप लुप्त बनि गो बन्ने गफाडी कति
।।२।।
कोदो फाँपर धानका बिउहरू चिन्दैन पुस्ता नयाँ
ताजा पौष्टिक कन्दमूल पनि ता देखिन्न कैले यहाँ
भिण्डी गाजर काउली घिउ सिमी ती आलु या कुन्द्रुक
अर्काकै भरका रहे सब कुरा त्यो झोलिलो गुन्द्रुक
।।३।।
बन्दा भारतको छ प्याज चिनियाँ नेपालमा भित्रिने
तोरी तेल र दाल साग सब यी आयात मात्रै हुने
खुर्सानी धनियाँ टमाटर तथा लौकी करेलाहरू
मात्रै देख्छु अभाव पौरख यहाँ फल्छन् फलाए अरू
।।४।।
आए स्याउ र मौसमी विष छरी केरा किवी सुन्तला
छन् ती अङ्गुर औ अनार फलका पोका तथा पुन्तुरा
रुन्छन् मूल्य नपाइ स्याउ कुहिँदा मुस्ताङ जुम्लाहरु
खै के ध्यान पुगेन फेरि यसमा खान्छौँ उतैको बरु
।।५।।
बाँझा छन् सब फाँट यी बगरझैँ बस्छौँ किनारा भई
कस्ले रोप्दछ गोड्छ खेत कसले बारी बगैँचा गई
खै प्राङ्गारिक तत्व छैन अहिले हाल्छौँ विषादी मल
माटो बिग्रि सकेछ आज यसरी फल्छन् कहाँ ती फल ?
।।६।।
बाख्रा पालन गर्न हुन्न र यहाँ गाई र भैँसी अनि
खेती उन्नत जातको गर अझैँ पालेर मौरी पनि
बाटो कुर्छ बसेर देश अहिले बन्दैछ यो जर्जर
छिट्टै गर्नु छ क्रान्ति आज कृषिमा आएर बुट्टा भर
।।७।।
पैसाकै पछि दौडिएर जहिले हुन्छौ भने ता पर
के यो देश हुनेछ पूर्ण हरियो ? होला कहाँ सुन्दर ?
ल्याऊ हे सरकार कार्यक्रम ती नौला नयाँ योजना
आफ्नै पौरखसाथ निर्भर भई बाँच्ने नयाँ सिर्जना
।।८।।
– रामचन्द्र जोशी
शिक्षक : दुर्गालक्ष्मी नमुना मा.वि., अत्तरिया, कैलाली