एजेन्सी– दक्षिण एशियाली (सार्क) राष्ट्रहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक लाख नाघेको छ ।
दक्षिण एसियाका आठ देशमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ८२ पुगेको छ भने २ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ ।
कोरोना महामारीको अवस्था हेर्दा दक्षिण एशियामा भारत सबैभन्दा प्रभावित बनेको छ । अहिलेसम्म भारतमा ५९ हजार ७ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ हजार ९ सय ८६ जनाको मृत्यु भइसकेको छ ।
भारतपछि कोरोनाको प्रकोप पाकिस्तानमा सबैभन्दा बढी देखिएको छ । पाकिस्तानमा २७ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ सय १८ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
बंगलादेशमा हालसम्म कोरोना भाइरसबाट १३ हजार ७ सय ७० जना संक्रमित बनेका छन् भने २ सय १४ जनाको मृत्यु भएको छ ।
हालसम्म ३ हजार ७ सय ७८ जना कोरोना संक्रमित भेटिएको अफगानिस्तानमा १ सय ९ जनाले ज्यान गुमाएका छन् ।
यस्तै श्रीलंकामा ८ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ ।
दक्षिण एशियाकै सबैभन्दा सानो राष्ट्र माल्दिभ्समा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमति हुनेहरुको संख्या ७ सय ४४ पुगेको छ भने तीन जनाले ज्यान गुमाएका छन् ।
यसैगरी नेपालमा हालसम्म १ सय ९ जना र भुटानमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसको विश्वव्यापी महामारीबाट हालसम्म ४० लाखभन्दा बढी मानिसहरु संक्रमति बनेका छन् भने २ लाख ७६ हजारभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।