दार्चुला – भारतसँग सीमा जोडिएका दार्चुलाका चार ठाउँमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) राख्ने तयारी गरिएको छ ।
गृह मन्त्रालयको निर्देशनमा सशस्त्र प्रहरी बलले दार्चुलाका थप नयाँ तीन ठाउँमा बीओपी राख्ने तयारी गरिएको हो । यसका लागि सशस्त्र प्रहरी बलले सोसम्बन्धी कार्ययोजनाका खाका तयार पारेर माथिल्लो निकायमा पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले बताए ।
दार्चुलाको लेकम गाउँपालिका ३ लाली, मालिकार्जुन गाउँपालिका ७ जोलजीवी र व्यास गाउँपालिका २ दुम्लिङमा सशस्त्र प्रहरीको बीओपी राख्न सकिने कार्ययोजना पठाइएको उनले बताए । यसअघि दार्चुलाको व्यास गाउँपालिका १, छाङ्गरुमा बीओपी राख्ने निर्णय भइसकेको छ । सदरमुकाम खलङ्गामा रहेको सशस्त्र प्रहरीलाई भारतसँग प्रत्यक्ष सीमा जोडिएका क्षेत्रमा परिचालन गर्न लागिएको हो ।
कोरोना भाइरससँग लडिरहेको सरकारले सशस्त्र प्रहरीलाई देशभरिका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ । सीमा परिचालन गरिएका सशस्त्र प्रहरीलाई स्थायीरूपमा बीओपी स्थापना गरी परिचालन गर्न लागेको हो । हाल सीमामा देशभरि १२१ बीओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा ५०० वटा र्पुयाउने तयारी गरेको छ ।
नेपालतर्फको सीमानाकामा भारतको ५३० बीओपी छन् । नेपाल सरकारले पनि सोही अनुपातमा बीओपी थप्ने तयारी गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले बीओेपी रहने स्थान, आवश्यक पूर्वाधारलगायत विषयमा जानकारी गराइसकेको छ ।
कोरोना सङ्क्रमणका कारण सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोस्टलाई बीओपीमा रुपान्तरण गर्ने सरकारी तयारी छ । सीमा सिलका लागि धनगढी महेन्द्रनगरबाट जिल्लामा ल्याइएको थप जनशक्तिलाई नयाँ स्थापना हुने बीओपीमै राख्ने कार्ययोजना छ । – रासस