डडेल्धुरा – जिल्ला अस्पताल डडेल्धुरामा करीब ६५ दिन निःशुल्क सेवा प्रदान गरेका डा.गोविन्द केसी बुधबार बझाङ तर्फ लागेका छन् । अस्पतालमा कार्यरत कर्मचारी रमेश भट्टका अनुसार डा. केसी ६५ दिन निःशुल्क सेवा दिएर बुधबार बझाङ तर्फ लागेका हुन् । अब उनी केही दिन उतै सेवा दिनेछन् ।
३५ सय पर्ने १५ जोडा वैशाखी किनेर अस्पताललाई दिएका डा. केसीले अस्पतालबाट कुनै रकम नलिएको र उल्टै बिरामीका लागि औषधि समेत किनिदिने गरेको भट्टले बताएका छन । भगवान् बनेर आएका डा. केसी डडेल्धुराबाट जाने बेला गोजी रीत्तै पारेर गएको समेत भट्टको भनाइ छ । उनी बझाङ जाने क्रममा डडेल्धुराको प्रसिद्ध शक्तिपीठ घटाल थानको दर्शन गरेर गएका उनले जानकारी दिए ।
‘दिउँसो अस्पतालको काम बाहेक केही नबोल्ने र बेलाबेला आफ्ना सबै बिरामीको अपडेट लिने गर्थे । बिरामीको खबर बुझेपछि उनी नयाँ बिरामीको उपचार गर्न र ती बिरामीलाई परामर्श दिनमै व्यस्त हुन्थे ।’ भट्टले भने । डा. केसीले डडेल्धुरा अस्पतालमा हुँदा २ हजार जती सामान्य केस र करिब ४ सयको हाराहारीमा अप्रेशन गरेका थिए । यद्यपि उनले कति बिरामी जाँचे भन्ने यकिन तथ्यांक अस्पताल सँग पनि छैन् ।
यसअघी १७ औँ पटक सत्याग्रह बस्न गत कात्तिकमा प्रध्यापक डा. केसी डडेल्धुरा पुगेका हुन । डडेल्धुरा पुगेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अर्बौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरूलाई कारबाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेका थिए ।
तर, कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह बीचमै रोकियो । १८ कात्तिकदेखि सुरू भएको उनको सत्याग्रह २६ कात्तिकमा नवौँ दिनमा स्थगित भयो । राष्ट्रियताको विषयमा देशभर जनस्तरबाट आवाज उठेको भन्दै डा. केसी सत्याग्रह स्थगित गरेर काठमाडौं फिर्ता भएका थिए ।
त्यस लगत्तै उनी गत फागुन २० गते गते डडेल्धुरा पुगेका हुन । डा. केसी डडेल्धुरा पुगेपछि धेरैले उनी अनशन बस्न आएका आशंका गरे । तर, डा. केसी अनशन नबसेर डडेल्धुरा पुगेको दोस्रो दिनदेखि नै निःशुल्क रूपमा बिरामीको उपचार गर्न थालेका अस्पताल स्रोतले जनाएको छ ।
२६ वर्षसम्म त्रिवि शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवं विशेषज्ञका रूपमा काम गरेका केसीले गत असोजमा अवकास पाएका थिए । अवकास पाएपछि अहिले उनी विकट जिल्लाहरूमा विरामीको उपचार गर्न घुमिरहेका छन् ।
दरबन्दी अनुसारको चिकित्सक नहुँदा आफैँ थला परेको डडेल्धुरा अस्पतालमा डा. केसी आएपछि उपचार गर्ने बिरामीहरूको भीडभाड नै हुने गरेको थियो । केसी डडेल्धुरा अस्पतालमा आएपछि अन्य पहाडि जिल्लाका बिरामीहरू पनि डडेल्धुरा पुग्ने गरेका थिए ।