काठमाडौँ – नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका थप संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत चौबिस घण्टामा १४ सय ५१ जनाको परीक्षण गरिएको जानकारी दिए ।
उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म नपालमा ९९ जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये उपचारपछि डिस्चार्ज भइसकेका तीन जनामा पुनः संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए । हालसम्म नेपालमा १४ हजार ५ सय ९ जनाको पीसीआर विधिबाट र ५४ हजार ९३ जनाको आरडिटी विधिबाट परीक्षण भएको डा. देवकोटाले जानकारी दिए ।
कुल संक्रमित मध्ये ७१ जना पुरुष र २८ जना महिला रहेको मन्त्रालयले जानकारी दिएको छ । प्रदेश नम्बर १ मा ३१, प्रदेश नम्बर २ मा ३०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश नम्बर ५ मा २४, सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए । यस्तै कर्णाली प्रदेशमा भने हाल सम्म संक्रमित भेटिएका छैनन् । डा.देवकोटाका अनुसार पिसिआरबाट १४ हजार ५ सय ९ जनाको कुल परीक्षण भएको छ भने आरडिटी विधिबाट ५४ हजार ९३ जनाको परीक्षण भएको छ ।
यस्तै हाल देशभर १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ । आइसोलेसनमा भने कुल १३३ जना रहेको जसमा उपत्यकाभित्र ३ जना र उपत्यका बाहिर १३० जना रहेको उनले जानकारी दिए । यस्तै उनले रेडजोनमा देशभर ३ सय ३५ जना रहेको बताए, जसमा गत चौबीस घन्टामा २ जना रेड जोनमा परेका हुन् ।
सरकारको आव्हान अनुसार आज साँझ सात बजे कोरोनाको रोकथाम र उपचारमा खटिएकाहरुको सम्मानमा दीप प्रज्वलनमा सहभागि भइदिन प्रवक्ता देबकोटाले आग्रह गरे ।