डडेल्धुरा – लगातारको हावाहुरी, असिना र पानीले पाकेको गहुँ भित्र्याउन नपाउँदा किसानहरु चिन्तित बनेका छन् । सुदूरपश्चिमका पहाडि जिल्ला डडेल्धुरा, डोटी, बैतडी, बझाङ लगायतका क्षेत्रमा गहुँ खेती थन्क्याउन वर्षा बाधक बन्दा किसानहरु चिन्तित बनेका हुन् । गहुँ पाकेर दाना खेतमै झर्न थालिसक्दा पनि हावाहुरी, असिना र पानीले भित्र्याउन नदिएपछि सुदूरपश्चिमका पहाडी जिल्लाका धेरै किसान चिन्तित भएका छन् । अरु वर्ष भन्दा यसवर्ष मनग्य गहुँ भित्र्याउने सपना बोकेका किसान अहीले चिन्तित छन ।
गहुँ फलाएर साँझ विहानको छाँक टार्ने गरेको भएपनि यस बर्ष भने बाली भित्र्याउन नपाउँदा भोकमरी हुने हो की भन्ने चिन्ताले सताएको डोटीको जोरायल गाउँपालिका–४ का महेश्वर ध्याडी बताए । उनले आकाश उघ्रिएपछि गहुँ काटुला भनेर पर्खाइमा बसेको बताए । खेतमा हावाहुरीले ढालेको गहुँ, पानी परिरहेपछि छाली नै कुहिन थालेको छ ।
अधिकान्स ठाउँमा निकै मेहनत गरेर फलाएको बाली हावाहुरी र असिना पानीले सखापै पारेको छ । स्थानिय किसान धिरज रोकायाले लगातारको बर्षाले पाकेको गहुँको बालाबाट फेरी गहुँका पात उम्रिरहेको बताए ।
अरु वर्ष भन्दा यसवर्ष गहुँ भित्र्याउने समयमा हावाहुरी, असिना र पानी परिरहेकोले गहुँ उत्पादनमा कमि आउने कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । असिनाले १५/२० प्रतिशत जति गहुँमा क्षति भएको बरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए ।
एकातिर कोरोनाको कारण सिंगो देश लकडाउनमय छ भने अर्को तिर गहुँ थन्क्याउन नपाउँदा किसानहरु चिन्तित छन । लकडाउनका कारण परिवारको पेट पाल्न गहुँको जोहो कसरी गर्ने भन्ने समस्यामा किसानहरु छन ।