काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ६५ हजार ५१ पुगेको छ ।
विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट यो समाचार तयार पार्दासम्म ३८ लाख २१ हजार ९१७ जना संक्रमित छन् । संक्रमितमध्ये १३ लाख १ हजार ७२५ जना उपचारपछि घर फर्किएका छन् ।
२२ लाख ५५ हजार १४१ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४८ हजार २११ जनाको अवस्था गम्भीर छ ।
सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा ७४ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ५२८ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ७४ हजार ७९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार ४५९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ६३ हजार ९२ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणले अमेरिकापछि बेलायतमा धेरै मानिसको मृत्यु भएको छ ।
बेलायतमा पछिल्लो २४ घण्टामा थप ६४९ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३० हजार ७६ पुगेको छ । मृतकको यो संख्या युरोपकै सबैभन्दा धेरै हो ।
कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३६९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २९ हजार ६८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४४४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १४ हजार ५७ पुगेको छ ।
स्पेनमा एकै दिन ३ हजार १२१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमितको संख्या घट्दो क्रममा रहेको स्पनेमा फेरि ३ हजारभन्दा बढी संक्रमित देखिएका हुन् ।
योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार ६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसले त्यहाँ २४४ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या २५ हजार ८५७ पुगेको छ ।
फ्रान्समा फेरि कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । एक सातायता संक्रमणको दर घटिरहेको फ्रान्समा फेरि संक्रमितको संख्या ३ हजार ६ सय नाघेको छ ।
पछिल्लो २४ घण्टामा फ्रान्समा ३ हजार ६४० जना संक्रमित भएका छन् भने २७८ जनाको मृत्यु भएको छ ।
योसँगै कुल संक्रमितको संख्या १ लाख ७४ हजार १९१ पुगेको छ । संक्रमणले मृत्यु हुनेको संख्या २५ हजार ८०९ पुगेको छ ।