काठमाडौँ– नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २ सय ४५ नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १ सय ५७ थियो ।
दूतावासका अनुसार मङ्गलबार सम्म बहराइनमा एक हजार ९ सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणबाट निदान प्राप्त गरी डिस्चार्ज हुनेको सङ्ख्या पनि ७ हजार ७ सय ६२ पुगेको छ ।
बहराइनमा कोरोना सङ्क्रमणबाट आठ जनाको ज्यान गएको छ । बहराइनले हालसम्म एक लाख ५५ हजार ५ सय १ जनामा कोरोना परीक्षण गरेको छ ।
ठूलो सङ्ख्यामा नेपालीमा कोरोना सङ्क्रमण देखिएपछि दूतावासले सार्वजनिक स्थानमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन सबैलाई आग्रह गरेको छ । कुनै स्वास्थ्य समस्या आइपरे तत्कालै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।
बहराइनमा रहेका नेपालीले भोग्दै आएको समस्या समाधान गर्न दूतावासले अनलाइन फारम भर्ने व्यवस्था गरेको छ । दूतावासले फाराममा उल्लेखित विवरण भरेर सहयोग गर्न सबै नेपालीलाई आग्रह गरेको छ ।
बहराइनले अवैध रुपमा बसोवास गर्दै आएका आप्रवासीका लागि वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० सम्म आममाफी दिएको छ ।
सङ्क्रमण नियन्त्रण नहुँदासम्म पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको भन्दै दूतावासले बहराइन सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न पनि नेपालीलाई सचेत गराएको छ । रासस