कन्चनपुर – कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारद्वारा जारी गरिएको बन्दाबन्दीका कारण प्रत्यक्ष असर परेका कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ हजार ७ सय ७१ दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका मजदुर र विपन्न परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ ।
राहत वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन नगरपालिकाले सङ्घीय सरकारको मापदण्ड अनुसार स्थानीय सबै वडाबाट विपन्न, असहाय र दैनिक ज्याला मजदुरी गर्ने परिवारको तथ्याङ्क सङ्कलन गरी सोही तथ्याङ्कको आधारमा एकद्वार प्रणाली मार्फत राहत वितरण गरेको हो । गत चैत अन्तिम सातादेखि राहत वितरण शुरु गरिएको हो । नगरप्रमुख सुरेन्द्र विष्टले भने, “राहत वितरणका लागि समिति गठन गरी काम अगाडि बढाइएको छ । हालसम्म नगरपालिकाका १९ वटै वडाका छ हजार ७७१ परिवारलाई राहत वितरण गरिएको छ ।”
सङ्घीय सरकारको मापदण्डानुसार सबै वडाबाट आएको सङ्ख्याका आधारमा राहत उपलब्ध गराइएको उल्लेख गर्दै नगरप्रमुख विष्टले राहत सम्बन्धित परिवारले पाए/नपाएकोबारे अनुमगनसमेत भइरहेको बताए । नगरपालिका कार्यालयले विभिन्न क्षेत्रबाट सहयोगस्वरुप आएको र खरिद गरी लकडाउनका कारण समस्यामा परेका परिवारलाई राहत उपलब्ध गराएको हो । सरकारले एकद्वार प्रणालीका आधारमा स्थानीय तहमार्फत राहत उपलब्ध गराउने मापदण्ड बनाएपछि विभिन्न सङ्घसंस्थाले नगरपालिकालाई खाद्यान्न लगायतका राहत सामग्री सहयोग गरेका छन् ।
कोरोना रोकथामका लागि नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा विभिन्न क्षेत्रबाट नगद सहयोगसमेत सङ्कलन गरिएको छ । नगरपालिकाले पाँचौँ नगरसभाबाट विपद् व्यवस्थापनका लागि कोष स्थापना गर्ने निर्णय गरेको थियो । उक्त कोषमा नगरपालिकाबाट ६१ लाख जम्मा गरिएको थियो । विभिन्न सङ्घसंस्था र व्यक्तिले रु १३ लाख रकम सो कोषमा जम्मा गरेका छन् ।
नगरपालिका–१८ सालघारी सुकुम्वासी टोलका जया दमाईले लकडाउनले समस्यामा परेको बेला नगरपालिकाले राहत उपलब्ध गराएपछि छाक टार्न सहज भएको बताए । सिलाइ पसलमा काम गरी दैनिक छाक टार्दै आएका दमाई लकडाउनले पसल बन्द भएपछि समस्यामा परेका थिए। “पसल बन्द भएपछि दैनिक गुजारा चलाउन निकै अप्ठ्यारो परेको थियो”, दमाईले भने, “त्यही बेलामा राहत पाएपछि साँझ बिहानको छाक टार्न सहज भएको छ ।”
नगरपालिकाबाट राहत पाउनेमा वडा नम्बर १ मा ३१०, वडा नम्बर २ मा १३५, वडा नम्बर ३ मा ३२५, वडा नम्बर ४ मा ७७६ जना रहेका छन् । यसैगरी वडा नम्बर ५ मा ३७६, वडा नम्बर ६ मा ३२०, वडा नम्बर ७ मा ४००, वडा नम्बर ८ मा २००, वडा नम्बर ९ मा ४९०, वडा नम्बर १० मा ७०० ले राहत प्राप्त गरेका छन् ।
वडा नम्बर ११ मा १८०, वडा नम्बर १२ मा १७५, वडा नम्बर १३ मा १४४, वडा नम्बर १४ मा १३४, वडा नम्बर १५ मा १४५, वडा नम्बर १६ मा १००, वडा नम्बर १७ मा १००, वडा नम्बर १८ मा एक हजार ६०० र वडा नम्बर १९ मा १६१ जनालाई राहत वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए ।
कञ्चनपुरका नौवटै स्थानीय तहमा भने २२ हजार ५६९ जनालाई राहत वितरण गरिएको छ । नेपाल सरकारले गत चैत ११ गतेदेखि कोरोना महामारी रोकथामका लागि बन्दाबन्दी घोषणा गरे पनि नगरपालिकाद्वारा भने त्यसको दुई दिनअघि नै लकडाउन गरेको थियो । रासस