डडेल्धुरा – डडेल्धुराका स्थानीयले कोरोना भाइरसको महामारीबाट बच्न जीवनशैलीमा परिवर्तन गर्न थाले सँगै उनीहरूमा आफ्नो र परिवारजनको स्वास्थ्य सम्बन्धमा चेतना बढ्दै गएको छ ।
कोरोना भाइरस ९कोभिड–१९० को महामारीले विश्व समुदाय प्रभावित भइरहेका बेला नेपालमा पनि यसको बहुआयामिक असर पर्न थालेको छ । यसले देशको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्नेदेखि स्वदेश तथा विदेशमा रहेका नेपालीलाई आफ्ना दैनिक कार्यका साथै जीवनशैली प्रभावित भएको छ ।
तर, कोरोना महामारी संक्रमणको सन्त्रासले यहाँको समाजमा स्वास्थ्य चेतनामा भने सकारात्मक परिवर्तन ल्याइदिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि यहाँका नागरिकले सरसफाइमा विशेष ध्यान दिन थालेका छन् भने स्थानीयको रहन सहनमा समेत सुधार आउन थालेको छ ।
पहिले–पहिले यहाँका नागरिकले खाना खानुअघि र दिसा–पिसाब गरेपछि मात्र हात धुने गरेकामा हाल आएर हरेक काम गरिसकेपछि साबुनपानीले हात धुन थालेका छन् । पानी पँधेरो र शौचालयहरूमा साबुनको प्रयोगलाई विशेषरूपमा ध्यान दिन थालिएको छ ।
आलिताल गाउँपालिका–८ कि अमृता ठडाली मगरको दैनिकी हाल फेरिएको छ । कृषिकर्म गर्ने अमृतालाई अचेल मेलापात जान डर लाग्छ ।
यहाँका स्थानीय तहले संक्रमणको जोखिम बढेपछि नागरिकहरुलाई स्वास्थ्य प्रति सचेत गराउने कार्य गर्न थालेका छन् । स्थानीयस्तरमा जनचेतना जगाउने, सामाजिक दूरी कायम गर्ने, सरसफाइमा ध्यान दिन सचेत गर्ने कार्य भएको छ ।
नागरिकको रहनसहन परिवर्तनका लागि माइकिङ गरेर सरसफाइ सम्बन्धी सन्देश दिनुका साथै बस्तीमा स्वास्थ्यकर्मी र स्वयंसेविका परिचालन गरेको र मोबाइल मार्फत सन्देश सम्प्रेषण भइरहेको अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए ।